अफगानिस्तानमा पाकिस्तानी भिसा लिने लाइनमा भागदौड, कम्तीमा १५ को मृत्यु


कार्तिक ५ जलालाबाद । भिसाका लागि आवेदन दिन जम्मा भएको भीडमा भागदौड मच्चिँदा अफगानिस्तानमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । मंगलबार जलालाबाद सहरमा रहेको पाकिस्तानी कन्सुलेट कार्यलय अगाडि जम्मा भएको भीडमा एक्कासि भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु भएको हो ।
भिसा आवेदनका लागि पाकिस्तानी कन्सुलेट कार्यालय अगाडि झन्डै ३ हजार जना भेला भएका थिए । भिसा आवेदनका लागि टोकन लिने क्रममा एक्कासि भागदौड मच्चिएको हो ।
प्रान्तीय काउन्सिलका सदस्य सोहराब कादरीका अनुसार भीडले कुल्चिएर मृत्यु हुनेमध्ये ११ जना महिला रहेका छन् । मृतकमध्ये केही ज्येष्ठ नागरिक रहेको पनि उहाँले जानकारी दिनु भएको छ । टोकन लिनका लागि तँछाडमछाड गर्दा एक्कासि भागदौड मच्चिएको पनि अफगान अधिकारीहरुले बताएका छन् ।
औषधोपचार, शिक्षा र रोजगारीका लागि अफगानिस्तानबाट बर्सेनि हजारौंको संख्यामा पाकिस्तान जाने गर्छन् । पाकिस्तान र अफगानिस्ताबीच करिब २ हजार ६ सय किलोमिटर सीमा जोडिएको छ ।
धार्मिक उत्पीडन, द्वन्द्व र चरम आर्थिक संकटका कारण मुलुक छोडेका करिब ३० लाख अफगानीलाई पाकिस्तानले शरण दिएको छ । मंगलबारको घटनाका बारेमा काबुलस्थित पाकिस्तानी राजदूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस