६ मंसिर काठमाडौँ । पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीप्रति नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भत्र्सना गर्नु भएको छ ।
नेता नेपालले शनिवार विज्ञप्ति जारी गर्दै पार्टी काममा लागिरहेका नेता पाण्डेमाथि सुनियोजित रुपमा अभद्र व्यवहार भएको भन्दै छानबिनको माग गर्नु भएको छ ।
विज्ञप्तीमा भनिएको छ ‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु’
नेता नेपालले विज्ञप्तिमा भन्नु भएको छ ‘सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जोसुकै भए पनि छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउँछु ।’
राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पुग्नु भएका पाण्डेविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले नाराबाजी गरेका थिए । नाराबाजीका कारण केहीबेर कार्यक्रम अवरुद्ध भएको थियो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नाराबाजी र होहल्ला गरेको आरोप छ । नेकपामा दुई समूहबीच विवाद बढेकैबेला त्यसको असर जिल्लामा पनि देखिन थालेको छ ।
प्रतिक्रिया दिनुहोस