५ मंसिर, सुर्खेत । बाजुराको त्रिवेणी नगरपालिका ७ घर भएका एमाले समर्थित कार्यकर्ता चेतन ऐडीको गोलीकाण्डको घटनाले उग्ररुप लिदा थप मृत्युु भएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका ऐडीको उपचार गर्न अछामको बयालपाटा अस्पताल लैजाँदै गर्दा आइतबार राति मृत्यु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनु भयो ।
‘आइतबार साँझ अर्का स्थानीय युवा सञ्जीव ऐडीलाई प्रहरीको गोली लागेर मृत्यु भएपछि स्थानीयले चेतनलाई कुटपिट गरी घाइते बनाएका थिए ।
उपचार गर्न पठाउने बन्दोबस्त गर्दागर्दै ढिलाइ भएको थियो । राति बयालपाटा लैजाँदै गर्दा मृत्यु भएको छ,’ प्रजिअ अधिकारीले भन्नु भयो । एमाले कार्यकर्ताहरुले भने उनी राति आफ्नै घरमा सुतेका बेला घर तोडफोड गरि कुटपिटबाट हत्या गरिएको दाबी गरेका छन् ।
मृतक ऐडी नेकपा एमाले समर्थित अनेरास्ववियू सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्षसमेत हुनुहुन्छ । दुई जना युवाको मृत्यु भएको घटनाले त्रिवेणीसहित बाजुरामा भय र त्रासको वातावरण छ । सोमबार थप सुरक्षाको प्रबन्ध गर्न प्रयास भइरहेको प्रजिअ अधिकारीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस