एमसीसी विरुद्ध काठमाडौंमा विशाल विरोध प्रदर्शन

एमसीसी संगै खराव व्यवस्थाको विरोध गर्न नेताहरुको आहवान

६ पुुस, काठमाडौँ । एमसीसी सम्झौता खारेज गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपासहित आठवटा पार्टी र मोर्चाहरुले राजधानीमा संयुक्त विरोध प्रदर्शन गरेका छन् ।

माइतीघरबाट सुरु भएको विरोध ¥याली नयाँ बानेश्वर पुगेर कोषसभामा परिणत भएको थियो ।कार्यक्रममा नेकपा सहित नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा (मसाल) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको सहभागिता रहेको थियो ।

एमसीसी संसद्बाट पारित गर्न नदिने चेतावनी दिँदै नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कन्चन, मालेका महासचिव सिपी मैनाली, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहुती)ले ¥यालिको नेतृत्व गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नेकपाका सचिवालय सदस्य कन्चनले नेपालमा एमसीसी कुनैपनि हालतमा लागु गर्न नहुने बताउनु भयो । एमसीसी अमेरिकाको शैन्य रणनीति अन्तरगतको बजेटबाट नेपालका लगानी गर्न लागिएको र यसलाई विना सर्त फिर्ता पठाउनु पर्ने बताउनु भयो ।
‘यो योजना अन्तरगत आउन लागिएको रकम अनुदान होइन, यो त अमेरिकाको लगानी हो ।

जुन इण्डो प्यासिफिक रणनीति अन्तरगतको बजेटबाट खर्च हुन्छ ।’ विरोधसभालाई सम्बोधन गर्दै उहाँले भन्नु भयो , ‘शैन्य रणनीतिको बजेटले बन्न लागेको परियोजना विशुद्ध सहयोग हो भन्न सकिदैन् त्यसैले समयमै यसलाई फिर्ता पठायो भने देशको हितमा हुन्छ ।’

उहाँले भन्नु भयो ‘एमसीसी दलाल संसदीय व्यवस्था भित्रकै एउटा दलालीको रुप हो । जो नेपालमा बसेर अमेरिकाको दलाली गरिरहेका छन् । हामीले एमसीसीको मात्र विरोध गरेर हुँदैन, यो व्यवस्थाकै विरोध गर्न पर्छ र वैज्ञानिक समाजवादको स्थापना लागि संघर्ष गर्न पर्छ ।’
कार्यक्रममा बोल्दै नेकपा मालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी अनुदान नहुने दावि गर्नु भयो ।

उहाँले कुनै पनि अनुदान संसद्बाट पास गर्नु नपर्ने र एमसीसी प्रचार गरिएअनुसार अहिले नआएको समेत बताउनु भयो । महासचिव मैनालीले एमसीसीमार्फत् अमेरिकाले नेपाललाई सैन्य रणनीतिभित्र पारेर चीनसँग लड्नको लागि नेपाललाई अखडाको रुपमा प्रयोग गर्न चाहेको समेत बताउनु भयो ।
उहाँले ५० करोड डलरमा नेपालको स्वाधीनता बिक्री गर्न नदिने बताउनु भयो । ‘अमेरिका नेपाल आउने भनेको चीनसँग लड्नका लागि हो । उनीहरु लड्दा हाम्रो कुनै टाउको दुखाईको विषय हुँदैन् । तर नेपालको भुमी प्रयोग गरेर अमेरिकालाई प्रहार गर्यो भने चीनले पनि त्यसको प्रतिवाद गर्छ ।’ उहाँले भन्नु भयो , ‘अमेरिकीहरु त बंकर खनेर कुन दुलोमा पसिसकेका हुन्छन् । त्यसको प्रत्यक्ष मारमा नेपाली जनता पर्छन् । तसर्थ, यसलाई समयमै रोक्न सके नेपाल र नेपालीको हित हुनेछ ।’

त्यस्तै, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले एमसीसी नेपालीहरुका लागि एउटा धोका भएको बताउनु भयो । उहाले विकास निर्माणको नाममा आउने रकमको नाममा अमेरिकाले सुरक्षा रणनीति भित्र्याउन चाहेको आरोप लगाउनु भयो । नेता गजुरेलले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताउनु भयो ।

उहाँले अमेरिकाको पैसा खाएकाहरुले, आश्वासनमा बिकेकाहरुले नै एमसीसी पास गर्न खोजेको आरोप लगाउनु भयो ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीले संसदवादी दलमा पनि देशभक्त नेताहरु भएकोले सहजै एमसीसी पास हुन नसकेको बताउनु भयो ।

उहाले केही पार्टीहरु फुटबाट आएकोले आगामी चुनावलाई मध्यनजर गरेर एमसीसीको पक्षमा पहिलेजति हौसिन छोडेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस