विश्वविद्यालयमा राजनीति हस्तक्षेप हुन नहुने एक कार्यक्रमका बक्ताहरुको जोड

कमल शाही

६ मंसिर,सुर्खेत । शिक्षा जस्तो महत्वपूर्ण क्षेत्र विश्वविद्यालयमा राजनीति हस्तक्षेप हुन नहुने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन ।

बुधवार मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले विश्वविद्यालयको सेमिनार हलमा आयोजना गरेको ‘२१ औं शताब्दिमा विश्वविद्यालयको स्वायत्तता तथा भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाँस बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन ।

अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कर्णाली प्रदेश सचिव धनजित शाहीले शिक्षा जस्तो क्षेत्रमा राजनीति हस्तक्षेप हुन नहुने बताउनु भयो । उहाँले मध्यपश्चिम विश्वविद्यालयको परिकल्पना गर्ने अवसर गणतन्त्रले दिएको पनि स्मरण गराउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टी सुर्खेत जिल्लाका सचिव जीतले विश्वविद्यालयले परिकल्पना गरेको विकास गर्न राजनीति हस्तक्षेत हुन नहुने र समाजवादी शिक्षा प्रणालीको लागु गरिनु पर्ने बताउनु भयो ।

उहाँले विश्वविद्यालयको विकास गर्ने ठाउँमा दक्ष व्यक्ति भएपनि व्यवस्था र प्रणालीमा समस्या भएको हुदा पहिला व्यवस्था र प्रणाली परिवर्तन गर्नुपर्ने जिकीर गर्नु भयो ।

कार्यक्रममा पूर्व शिक्षा क्याम्पस प्रमुख महेन्द्र गिरीले विश्वविद्यालयमा धेरै राजनीति हस्तक्षेप भएको उल्लेख गर्दै यसले विश्वविद्यालयको विकासलाई समस्या पारेको औल्याउनु भयो ।

उहाँले विश्वविद्यालयमा भागबन्डाको राजनीति अन्त्य गर्नु पर्ने र निश्पक्ष भएर क्षमता र दक्षताको आधारले नियुक्ति गरिनुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा बोल्ने अधिकाँस बक्ताहरुले विश्वविद्यालयको भौतिक बिकाससंगै गुणस्तरीय शिक्षाको विकासमा जोड दिनुपर्ने बताएका थिए । उनीहरुले यसको लागि सबैले आ–आफ्नो तर्फबाट असल नागरिकको भूमिका पुरा गर्नु पर्ने पनि सुभाव दिएका थिए ।

कार्यक्रमको सुरु हुनु पूर्व कार्यक्रमका अतिथि तथा प्रतिनिधिहरुलाई विश्वविद्यालयका उपकुलपति डाक्टर नन्दबहादुर सिंहले अतिथि आवासगृह, केन्द्रीय क्याम्पस, क्याम्पसका कक्षाकोठा, आधुनिक प्रयोगशाला, भवन, केन्द्रीय पुस्तकालय तथा केन्द्रीय क्याम्पस परिसरको बगैंचाको अवलोकन गराउनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा उपकुलपति डाक्टर सिंहले विश्वविद्यालयको गुरुयोजनाकाबारेमा समेटिएको वर्णनात्मक वृत्तचित्र पनि प्रस्तुत गर्नुभयो । वृत्तचित्रमा विगतको विश्वविद्यालयको अवस्था र वर्तमान प्रगतिको तथ्यांक सहितको विषयवस्तु देखाईएको थियो ।

उपकुलपति डाक्टर सिंहको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई स्वागत मन्तव्यबाट विश्वविद्यालय रजिस्ट्रार डाक्टर नारायण पौडेलले स्वागत गर्नु भएको थियो भने संचालन जसवीर रोकायाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस