प्रधानमन्त्री प्रचण्ड चीन, राष्ट्रपति सीसँग आजै भेटवार्ता हुने

६ असोज,काठमाडौ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहान चिनियाँ समय अनुसार १०ः १० बजे चीन पुग्नु भएको छ ।

प्रचण्ड संयुक्त राष्ट्र सङ्घको महासभा सहभागी भएर अमेरिकाबाट हङकङ हुँदै एसियाली खेलकुद महोत्सव आयोजना गरिएको चीनको हाङचौं शहरमा पुग्नु भएको हो ।

प्रधानमन्त्री प्रचण्डको स्वागतको लागि चीनस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीहरू हाङचौंको अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको लागि पुग्नु भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले आज साँझ आठ बजे एसियाली खेलकुद महोत्सवमा उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । त्यसअघि आजै दिउँसो चार बजे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटघाट हुने कार्यक्रम तय भएको छ ।

शनिवार मध्यान्ह राष्ट्रपति सीले एसियाली खेलकुदमा सहभागी हुन आएका विशिष्ट पाहुनालाई दिवा भोज दिनुहुने छ । प्रधानमन्त्री दाहाल राष्ट्रपति सीले आयोजना गरेको दिवा भोजमा सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्रीको चीन भ्रमण एकसाताको हुनेछ । हाङचौंबाट, बेइजिङ, छोङछिङ, तिब्बत र छेन्दु हुँदै ३० सेप्टेम्बरमा नेपाल फर्कने कार्य तालिका रहेको छ ।

प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्री एनपी साउदलगायत नेपालबाट पुगेका प्रतिनिधिमण्डलहरू पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस