खाद्य संस्थानको चामल उपभोग गर्ने घटे

असाेज ६, कालिकोट। सडक सञ्जालले जोडिएपछि कालिकोटमा खाद्य संस्थानको चामल उपभोग गर्नेको संख्यामा कमी आएको छ ।

स्थानीय बजारमा संस्थानको भन्दा स्तरीय चामल जताततै सहजै उपलब्ध हुन थालेपछि संस्थानको चामल उपभोग गर्नेको संख्या घट्दै गएको हो । कर्णाली राजमार्गको स्तरोन्नतिसँगै कालिकोटका ग्रामीण भेगसम्म सडक जोडिएपछि गाउँघरमै स्थानीय व्यापारीद्वारा बजारको खाद्यान्न उपलब्ध हुन थालेको छ । बढ्दो प्रतिस्पर्धाका कारण व्यापारीहरूले खाद्यकै मूल्यमा बजारको चामल गाउँघरमा बिक्री गर्दा संस्थानको चामल थन्किएको हो ।

संस्थान शाखा कार्यालयमा दसैंलाई लक्षित गरी गोदाममा जम्मा गरिएको करिब ६ सय क्विन्टल चामल भित्रिएको छ । जसमध्ये दशैंमा करिब दुई सय क्विन्टल मात्र चामल बिक्री हुन सक्ने आँकलन गरिएको छ । ‘दशैंका लागि जिल्ला भित्याएको चामल हामीसँग पर्याप्त छ,’ संस्थान शाखा प्रमुख निर्मल थापाले भन्नु भयाे ‘गोदाममा थन्किएको चामल वैशाखसम्म पनि कट्दैन जस्तो छ, जिल्लामा खाद्य अपुग छैन ।’

अहिले संस्थानमा ५ सय ६५ क्विन्टल चामल मौज्दात छ । संस्थानमा पाइने ६ प्रकारको चामलमध्ये जिरा मसिनो चामल प्रतिकेजी ६३ रुपैयाँ प्रतिकेजी, सोना मन्सुली प्रतिकेजी ४८ रुपैयाँ, उसिना मनसुली ४२ रुपैयाँ र जापानी चामल ४२ रुपैयाँ अरुवा मध्यम चामल ४६ रुपैयाँ र अरुण मोटो चामल ४५ रुपैयाँ प्रतिकेजी बिक्री हुँदै आएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा थिर्पु डिपोमा ४५ सय क्विन्टल चामल बिक्री भएकोमा आर्थिक वर्ष २०७५/७६ मा घटेर १६ सय क्विन्टल चामल बिक्री भएको छ । यस्तै, तिलागुफाको खल्ला गाडामा अघिल्लो वर्ष ३ सय ६० क्विन्टल चामल बिक्री भएकोमा घटेर एक सय १४ क्विन्टल चामल बिक्री भएको छ भने सदरमुकाम मान्मको कार्यालयमा गत वर्ष २८ सय ६० क्विन्टल बिक्री भएकोमा यो वर्ष १७ सय २१ केजी चामल बिक्री भएको छ ।

कर्णाली प्रदेशका डोल्पा, जाजरकोट, हुम्लालगायतका जिल्ला र जुम्लाका ग्रामीण डिपोमा खाद्य अपुग भइरहेको बेला कालिकोटमा खाद्य संस्थानमा भने चामल थन्किएको छ । संस्थानमा थन्किएको चामल दसैंमा बिक्री हुने अपेक्षा गरिए पनि स्थानीयले डिपोको चामलमा रुचि देखाएका छैनन् ।

दुर्गमका डिपोमा पुग्दैन चामल

कालिकोटको ग्रामीण क्षेत्रका खाद्य डिपोमा समयमै चामल नपुग्दा स्थानीय हाट बजारमा महँगो मूल्यमा चामल खरिद गर्न स्थानीय बाध्य छन् । महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको खल्लागाड र पलाता गाउँपालिकाको थिर्पु डिपोमा संस्थानको चामल नहुँदा स्थानीय बजारकै चामल खरिद गर्न बाध्य छन् ।

खाद्य संस्थाका प्रमुख थापाका अनुसार थिर्पु डिपोमा मोटो चामल हुनु पर्नेमा गत वर्षकै स्टक मसिनो चाम १ सय ७० क्विन्टल स्टके छ । अरू मोटो चामल अहिलेसम्म डिपोमा पठाउन सकिरहेको छैन । संस्थानको चामल सदरमुकामस्थित गोदाममा प्रशस्त थुप्रिएको छ तर ग्रामीण क्षेत्रको डिपोमा टेन्डर आह्वान गरेर ठेकेदारले समयमा चामल नपु¥याउँदा समस्या भएको उहाँले बताउनु भयाे । उहाँले भन्नु भयाे ‘महावै गाउँपालिकाको पादमघाटमा एक वषदेखि कुनै पनि चामल छैन । पटक–पटक टेन्डर आह्वान गर्दा पनि ठेकेदारले चामल पु¥याउन सकिरहेका छैनन् । स्थानीय अहिले नजिकैको बजारमा महँगो मूल्यमा चामल किनेर खाइरहेका छन् । जिल्लामा भने टनाटन चामल थन्किएको छ ।’

गाउँको डिपोमा चामल आउँदा बीच बाटोमै बिक्री हुने, डिपोमा पुगे पनि नजिकैका व्यापारीले बिक्रीमा राख्ने र समयमा चामल नपुग्ने भएकाले संस्थानको चामलप्रति स्थानीयको चासो घट्दै गएको महावैगाउँपालिकाका स्थानीय हर्कबहादुर सिंहले बताउनु भयाे । दुर्गम क्षेत्रका स्थानीयलाई मध्यनजर गर्दै डिपो स्थापना भएको भए पनि डिपोमा चामल ल्याउने क्रममा निकै लापारबाही हुने गरेको उहाँले गुनासो गर्नु भयाे । समयमै डिपोमा चामल नपठाउने तर जिल्लाकै लागि चामल अपुग नभएको संस्थान शाखाले दाबी गरेको छ । खाद्य संस्थान क्षेत्रीय कार्यालय नेपालगन्ज, राजापुर र सुर्खेतदेखि वार्षिक ९ हजार क्विन्टल चामल कालिकोट आयात हुँदै आएको छ ।

गाउँका खाद्य डिपोमा चामल अभाव भए पनि कालिकोटका केही स्थानीय तहले नेपालीहरूको प्रमुख चाडपर्व दसैं–तिहारलाई लक्षित गरी वडा वडामा चामल खरिद गरिसकेको जनाएका छन् । अन्न उत्पादनको हिसाबले अरू स्थानीय तहभन्दा कम उत्पादन हुने पलाता गाउँपालिकाले वडा वडामा दसैं र तिहारलाई लक्षित गरी चामल खरिद गरी वितरण गर्न लागिरहेको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताउनु भयाे । उहाँका अनुसार चाडपर्वलाई लक्षित गरी ९ वटै वडामा रहेका विपन्न र शहीद परिवारहरूका लागि आवश्यक चामल खरिद गरिसकिएको छ । यस्तै, चामलको अभाव हुने महावैगाउँपालिकाले पनि चामल खरिद गर्ने अध्यक्ष नन्दबहादुर सिंहले बताउनु भयाे ।  यो समाचार राजधानी दैनिकमा विश्वनाथ सिम्खाडाले लेख्नु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस