रास्कोटमा स्काभेटर संचालक विना कारण हटाईए, १ लाख ७६ हजार तलव भत्ता पाएनन्

१२ फागुन, कालिकोट । रास्कोट नगरपालिकामा करार नियुक्त लिएर निरन्तर ७ बर्ष स्काभेटर चलाईरहेका जीवन बुढथापालाई विना कारण हटाईएको छ । पीडित थापालाई काम गरेको दिनु पर्ने १ लाख ७६ हजार तलव भत्ता समेत नगरसरकारले भुक्तानी दिएको छैन ।
उनले नगरपालिकाको आदेशमा नगरपालिकाको भवन ढलान गर्दा वालुवा गिट्टी फालेको, नगरपालिकाको बाटो बनाएको र बडिमालिका विद्यालयको भवनको फिल्ड तयार गर्दा काम गरेको भुक्तानी नदिएको बताएका छन ।
२०७४ सालमा तत्कालिन नगरप्रमुख काशिचन्द्र बराल निर्वाचित भएदेखि दक्ष एवम अनुभवि स्काभेटर संचालकको रुपमा थापालाई नियुक्त गरिएको थियो ।

उनले सुरुवाती समयदेखि रास्कोट नगरपालिकाका प्रत्येक वडाहरुमा स्काभेटर मार्फत दिन रात नभनेर सडकको ट्रयाक खोल्ने काम गरेका थिए ।
उनकै सहयोगीको रुपमा काम गर्दै आएका र लाईसेन्स समेत नभएका वर्तमान नगरप्रमुख धर्मराज शाहीका आफन्त शिखर शाहीलाई अहिले एकाएक स्काभेटर चलाउने जिम्मेवारी दिएको छ ।
नगरप्रमुख शाहीले विना कारण कुनै सोधपुछ नगरेर ७ बर्षदेखि सेवा गरेका स्काभेटर संचालक हटाएर त्यसको ठाउँमा आफन्त शिखर शाहीलाई नियुक्त गरेपछि उनको नियतमाथि प्रश्न उठेको छ ।
उसो त रास्कोटवासीहरुले नगरप्रमुख शाहीमाथि उपभोक्ता,ठेक्का पट्टा, कर्मचारी लगायतका ठाउँहरुमा कमिशनको खेलोमेलो गर्न सजिलोका लागि आफन्त र पार्टी कार्यकर्ताहरुको भर्ति केन्द्र बनाएको गुनासो गरेका छन ।
नगरप्रमुखले स्काभेटर संचालक २७ बर्षिय थापालाई जानकारी विना २०८२ साल भाद्र १८ गतेबाट हटाएर आफन्त शिखरलाई नियुक्त गरेका हुन ।
नगरप्रमुखको यस्तो व्यवहारले नातावाद र कृपावादको चरम पराकाष्ठाको उजागर गरेको स्थानीयले आरोप लगाएका छन ।
पीडित स्काभेटर संचालक बुढथापाले आफूले नगरपालिकाको निर्देशनमा ठाउँ–ठाउँमा काम गरेको चार महिनाको तलव र भत्ता सहित कुल १ लाख ७६ हजार नगरसरकारबाट भुक्तानी नपाएको गुनासो गरेका हुन ।
स्काभेटर संचालक बुढथापालले पटक –पटक नगरप्रमुख धर्मराज शाहीलाई भुक्तानीको कुरा गर्दा पनि सुनुवाई नभएको बताएका छन ।
उनले नगरप्रमुखबाट आफू धेरै पीडित भएको भन्दै अरु आफुलाई केही पनि चाहिएन, तर मेरो श्रमको मुल्य भुक्तानी चाहियो पटक –पटक ज्वाला खवरलाई भनेका छन ।
नगरप्रमुख शाहीसंग धेरै पटक तलव भत्ता दिन अनुरोध गर्दा पनि हुन्छ– हुन्छ भन्दै टारेको पीडित बुढथापाले गुनासो गरेका छन ।
‘एकातिर मेरो जागिर पनि जानकारी नदिएर हडपे, अर्कोतिर ४ महिनाको तलव भत्ता दिएका छैनन्, मैले सिकाएको र लाईसेन्स नभएको स्काभेटर संचालक राखेका छन, भोलि कुनै घटना भयो भने मलाई फसाउन सक्छन, यसको निकास मलाई चाहिन्छ, मेरो पारिश्रमिक पनि दिनु पर्यो’ पीडित स्काभेटर संचालक बुढथापाले भने । उनले आफू भने लाईसेन्स र दक्ष भएको बताएका छन ।

नगरसरकारले उनलाई मासिक २६ हजार ५ सय तलव, र प्रतिघण्टा स्काभेटर चलाए वापत्त बकेटको २०० र ब्रेकरको प्रतिघण्टा २५० भत्ता दिने सम्झौता गरेर अस्थायी करार नियुक्ति गरेको थियो ।
स्काभेटर नगरसरकारकै हो । नगरसरकारले आवश्यकता अनुसार जतापनि काममा खटाउने गरेको थियो ।
प्रायः नगरपालिकाको स्काभेटरले नगरप्रमुखका नातेदार अलीबहादुर शाहीको ठेक्काको काम गरेको छ । नगरप्रमुख शाहीले जसरी पनि अलिबहादुर शाहीलाई कमिशनको खेलोमेलोमा ठेक्का पार्ने गरेको पनि जनगुनासो आएको छ ।
पीडित स्काभेटर संचालक वुढथापाले स्काभेटर चलाएको लकबुक समेत अलि शाहीले कव्जा गरेर राखेको खुलासा गरेका छन ।
स्काभेटर संचालक थापाले अलिशाहीको काम गरेको करिव साढे ४ लाख रुपैया भुक्तानी नपाएको पनि बताएका छन ।
उनले यो भुक्तानी अली शाहीले दिने भुक्तानी भएको भन्दै भुक्तानी दिन आल टाल गरेको बताएका छन । ‘नगरसरकारले दिने भुक्तानी छुट्टै हो, नगरप्रमुुखका आफन्त अलि शाहीले दिने कामको भुक्तानी छुट्टै हो, दुवै गरेर मेरो ६ लाख २६ हजार पारिश्रमिक पाउन वाँकी छ,तर मलाई विना कारण हटाएको ६ महिना पुग्दा पनि मैले हिसाव पाएको छैन, म पीडित भए, मेरो परिश्रम शोषण गरियो’ पीडित स्काभेटर संचालक बुढथापाले भने ।

पीडित स्काभेटर बुढथापालाई दिएको करार नियुक्त र सम्झौताहरु

प्रतिक्रिया दिनुहोस