माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैध ः प्रभु साह

१० असार,रौतहट । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र अध्यक्ष दुबै नियम र संगतले नमिलेकाले अवैध रहेको नेकपा नेता तथा पूर्वमन्त्री प्रभु साहले बताउनु भएको छ ।

रौतहटको मौलापुर नगरपालिकाको बजेट अधिवेशन उद्घाटन गर्दै नेता साहले हेटौँडा अधिवेशनपछि कुनै अधिवेशन नभएको र हेटौँडामा अधिवेशन भएको पार्टीको नाम नेकपा माओवादी केन्द्र नै नभएकाले अवैद्य भएको वताउनु भएको हो ।
उहाँले निर्वाचन आयोगमा दर्ता नै नभएको पार्टीसित एकीकरण गरिएको तथा एकीकरण भएपछि कुनै अधिवेशन नै नरहेको हुनाले पार्टीको नाम र अध्यक्ष दुवै अवैध रहेको जिकिर नेता साहले गर्नु भयो ।

देशमा रहेका सबै राजनैतिक दलको हकमा एकै किसिमको नियम लागू हुनुपर्नेमा कुन नियमले निर्वाचन आयोगले प्रचण्डलाई अध्यक्ष मानिरहेको हो भन्ने प्रश्न पनि नेता साहले गर्नु भयो ।

२०६९ पछि पार्टीको कुनै अधिवेशन नै नभएको बताउँदै नेता साहले नौ वर्ष बित्दा पनि अध्यक्ष मानिरहेको निर्वाचन आयोगले विधिसम्मत कानुनी प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्नु भयो ।

यसैविच मौलापुर नगरपालिकाको बजेट अधिवेशन चलिरहँदा प्रतिपक्षीहरुले विरोध प्रदर्शन गरेका छन् । गत ७ असारमा नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै विभिन्न मागहरु राखेर ८ असारमा नगरपालिकाविरुद्ध प्रदर्शन गरेका नेपाली काँग्रेस, नेकपा एमाले (माधव समूह), माओवादी केन्द्रलगायतका दलका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनमा उत्रेको समूहको प्रतिकारमा प्रभु साहका समर्थक र प्रदर्शनमा उत्रेका बीच दोहोरो भीडन्त भएको थियो ।
दोहोरो ढुँगा हानाहानलाई प्रहरीले रोक्न खोज्दा प्रहरी नै दुवैतिरबाट निशाना बनेको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउन्ड अश्रु ग्याँस तथा हवाई फायर गरेको छ । प्रहरीले २३ राउन्ड अश्रु ग्याँस तथा १४ राउन्ड हवाई फायर गरेको छ। यसै क्रममा दुवैतिरबाट भएको ढुंगा प्रहारबाट नौ प्रहरी र तीन सशस्त्र प्रहरी घाइते भएका छन् ।
घाइते प्रहरीको स्थानीय अस्पतालमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि सिद्धिविक्रम शाहले जानकारी गराउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस