७ कार्तिक,कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आज विजया दशमीको टीकाको दिनमा टीका नलगाएर लसुन लगाउनु भएको छ ।
नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुमा महासचिव विप्लवले पार्टीको उत्पादनको नीतिलाई कार्यान्वयन गर्दै केन्द्रीय कार्यालय टिमसंगै खेतमा लसुन लगाउनु भएको हो ।
उहाँले दशैं सामन्तवादी व्यवस्थाको श्रमजीवी जनता माथिको शोषणको संस्कृतिमा टीका लगाउनुको कुनै अर्थ नहुने भन्दै बरु नयाँ सी संस्कृतिको विकास गर्नुपर्ने बताउनु भएको छ ।
उहाँले जनताले आफ्नो राष्ट्रिय स्वाधीनता र मुक्तिको लागि बेला –बेला गरेका क्रान्ति र बलिदानहरुलाई चाडपर्वको रुपमा स्थापित गर्नुपर्ने विचार राख्दै आउनु भएको छ ।
टीकाको दिनमा प्रायःसबै पार्टीका उच्च तहका राजनीतिक दलका नेताहरु टीका जमरा लगाउनमा व्यस्त भएको बेला महासचिव विप्लवले भने त्यसलाई महत्व दिनु भएन ।
महासचिव विप्लव हलो (हाते ट्याक्टर)संगै खेतमा खेत जोत्दै रमाउदै लसुन लगाउनमा व्यक्त हुनु भयो ।
उहाँले नेपालमा चलन चल्तीमा रहेका सबै संस्कृतिहरुलाई बदल्नु पर्ने विचार राख्ने गर्नु हुन्छ । महासचिव विप्लवले केही दिन अघिनै दशैंको समयमा आफूले श्रम गर्ने,अध्ययन गर्ने र मनोरञ्जनका लागि प्रगतिशील फिल्म र नाटकहरु हेर्ने र भेटघाट गर्ने बताउनु भएको थियो ।
यस्तै महासचिव विप्लवले आज नेता,कार्यकर्ता तथा आफन्तहरुसंगको भेटघाट पनि गरेको नेकपाको केन्द्रीय कार्यालय श्रोतले जानकारी दिएको छ ।