प्रचण्डको विश्लेषण ः भीषण संघर्ष गर्ने अवस्था आउन सक्छ


९ पुस, काठमाडौं । पार्टी विभाजनको औपचारिकता पूरा गर्दै नेकपाका दुई समूहका बेग्लाबेग्लै बैठकहरु बिहीबार सम्पन्न भएका छन् । बैठकको अन्त्यमा ओली र प्रचण्ड दुवैले आ–आफ्नो समूहलाई सम्बोधन गर्दै भाषण गरे । प्रचण्ड–माधव समूहमा अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्डले प्रतिगामी षड्यन्त्र सुरु भएको भन्दै जीवन–मरणको संघर्ष गर्नुपर्ने बेला आएको बताउनु भएको छ ।
निर्वाचन आयोगले पार्टीको नाम र चुनाव चिह्नबारे निर्णय लिनुपर्ने बेलामा अदालतले पुस १४ गते नेकपाको नामसम्बन्धी पेसी तोकेको बताउँदै प्रचण्डले प्रतिगामी षडयन्त्रको गन्ध ह्वास्सै आएको बताउनु भयो ।
दिउँसो बल्खु पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पणसमेत गर्नु भएका प्रचण्डले गणतन्त्र र संविधानको रक्षाका लागि कार्यकर्ताहरुलाई फेरि एकचोटि संघर्षमा उत्रन आह्वान गर्नु भयो । संघर्ष नगर्ने हो भने प्रतिगमनलाई रोक्न नसकिने प्रचण्डले निष्कर्ष सुनाउनु भयो ।
‘अहिले प्रतिनिधिसभा विघटनको सिफारिस र विघटनको स्वीकृतिसँगै जुन राजनीतिक संकट देशमा देखा परेको छ, म यसका बारेमा केही कुराहरु कमरेडहरुलाई अलि गम्भीरताका साथ ध्यानाकर्षण गराउन जरुरी ठानेको छु’ बैठकको समापन मन्तव्यमा प्रचण्डले भन्नु भयो , म कमरेडहरुलाई जोड दिएर भन्न चाहन्छु, ‘मेरो अध्ययन, विश्लेषण र घटनाक्रम नजिकबाट नियालेर हेर्दा यो पार्टीभित्रको सामान्य अन्तरसंघर्ष मात्र होइन । कम्युनिस्ट आन्दोलन र नेपाली जनताले प्राप्त गरेका उपलब्धिहरुलाई निस्तेज गर्ने र प्रतिगमनको आधार तयार पार्ने ठूलो डिजाइनअन्तर्गत नै यी सबै नाटकहरु मञ्चन भएका हुन् ।’

प्रतिक्रिया दिनुहोस