माघ ११, काठमाडौँ । चीनको युवान क्षेत्रबाट स्वदेश फर्किएका एक युवकमा नोबेल कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले नेपाली युवकमा भाइरस पाइएको बताउनु भयो ।
नेपालमा प्रारम्भिक जाँच गरी थप निदानका लागि उनको नमुना विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को हङकङस्थित कोलाबोरेटिङ सेन्टरमा पठाइएको थियो । सेन्टरले बिहीबार प्रयोगशाला परीक्षणको रिपोर्ट पठाएपछि स्वास्थ्य मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी संक्रमण भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले भन्नु भयो , ‘एक व्यक्तिमा जाँच गर्दा पोजेटिभ आएको छ । अहिले ती व्यक्तिमा लक्षण देखिएको छैन । उनलाई प्रत्यक्ष निगरानीमा राखिएको छ ।’
अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीको प्रावधानअनुसार भाइरस संक्रमित भएको रिपोर्टसहितको विस्तृत विवरण २४ घण्टाभित्र डब्लूएचओमा सरकारले पठाउने उहाले जानकारी दिनु भयो ।
ती युवकलाई ३ माघमा डिस्चार्ज गरिएको थियो । व्यक्तिगत गोपनीयताका कारण उनका बारेमा अन्य विवरण सार्वजनिक गरिएको छैन । परिवारका अन्य सदस्य, सम्पर्कमा रहेका स्वास्थ्यकर्मी र साथीहरूको पनि रिपोर्ट लिइएको छ ।
शुक्रराज ट्रपिकल अस्पतालमा जँचाउन आउँदा ती युवकले ज्वरो आएको र श्वासप्रश्वासमा गाह्रो भइरहेको बताएको एक चिकित्सकले जानकारी दिएका छन ।
त्रासमा नेपाली विद्यार्थी
चीनको युवान प्रान्तमा अध्ययनरत नेपाली विद्यार्थी कोरोना भाइरस संक्रमणको त्रासमा छन ्। त्यहाँ सयौं संक्रमित फेला परेका छन । युवानबाट स्वदेश फर्किएका संक्रमित युवक पनि विद्यार्थी रहेको स्रोतले बतायो ।
युवानमा रहेका अन्य नेपाली विद्यार्थी बेइजिङस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन । दूतावासले हालसम्म कुनै नेपालीलाई पनि संक्रमण नभएको जनाएको छ ।
युवान क्षेत्रमा संक्रमणको डरले मानिसहरू बाहिर निस्कन छोडेका छन् । बाहिर निस्कनै परेमा सबैले मास्क लगाउने गरेको एक विद्यार्थीले टेलिफोनमा बताएका छन ।
हङकङबाट आएकामाथि निगरानी
हङकङबाट स्वदेश फर्किएका अर्का एक बिरामीलाई कोरोना भाइरसको आशंकामा चिकित्सकले प्रत्यक्ष निगरानीमा राखेका छन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले भन्नु भयो , ‘एकजनालाई अब्जरभेसनमा राखिएको छ । हङकङबाट आएको हुनाले जोखिम छ कि भनेर निगरानीमा राखिएको हो ।
उनलाई ज्वरो आउने, श्वासप्रश्वासमा कठिनाइ हुने लगायतका केही लक्षण देखिएको छैन ’ ती बिरामीलाई ग्रान्डी इन्टरनेसनल अस्पतालले रेफर गरेको थियो । निर्देशक डा. पाण्डेले ती बिरामीको थप निदानका लागि नमुना पठाइने बताउनु भयो । उहाँले भन्नु भयो , ‘नमुना परीक्षणका लागि जतिसक्दो छिटो बाहिर पठाउँछौ ।’
विमानस्थलमा उच्च सतर्कता
सरकारले त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाएको छ । विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता वृद्धि गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले तीन चिकित्सक, तीन नर्ससहित ८ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको बताउनु भयो ।
विमानस्थलमा स्वास्थ्य जाँचका लागि ५ वटा उपकरण जडान गरिएको छ । ज्वरो आएका बिरामीको पहिचान गरी तोकिएको अस्पतालमा लैजाने व्यवस्था गरिएको छ ।
डब्लूएचओको प्राविधिक सहयोगमा रोग पहिचानका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अलगोरिधम चार्ट बनाएको छ । यसमा बिरामीको पहिचान, उपचार विधि र शंकास्पद बिरामीले अपनाउनुपर्ने सावधानीबारे उल्लेख छ ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले विमानस्थलमा विशेष स्वास्थ्य निगरानी बढाइएको बताउनु भयो । उहाँका अनुसार विमानस्थलमा थर्मल स्क्यानर जडान गरिएको छ । थर्मल स्क्यानरले शंकास्पद बिरामीलाई छुट्याउन सजिलो हुन्छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले यसको हेल्प डेस्कलाई उन्नत, व्यवस्थित र परिमार्जित गर्दैै राज्यका तर्फबाट ध्यान दिने प्रतिबद्धता व्यक्त गनु भएको छ ।
के हो कोरोना भाइरस ?
यो नयाँ प्रजातिको भाइरस हो । यसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वाससम्म गराउन सक्छ । कोरोना भाइरस मानिस र पशुमा संक्रमण हुन्छ । जनावरबाट मानिसमा संक्रमित भएको कुनै वैज्ञानिक आधार हालसम्म छैन । मानिसमा कसरी यो भाइरसबाट संक्रमित भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ । सन् २००३ मा देखिएको सार्स र नोबेल कोरोना एउटै प्रजातिका भाइरस हुन । दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्छन ।
नोबेल कोरोना भाइरस मानिसबीच सर्न सक्छ भनेर पुष्टि भएको छैन । यस विषयमा अनुसन्धान भइरहेको छ । यो भाइरस संक्रमण कसरी हुन्छ भन्ने बारेमा यकिन छैन । तथापि रुघाखोकी र श्वासप्रश्वासका बिरामीको नजिक नजाने र हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ ।
यस भाइरसले गर्दा हुने रोगको खास उपचार छैन । यो भाइरसले निम्त्याएका धेरै लक्षणको उपचार गर्न सकिन्छ । यस भाइरसविरुद्ध कुनै खोप उपलब्ध छैन ।
सबै सजग बनौं मन्त्री ढकाल
कोरोना भाइरस अत्यन्तै संवेदनशील विषय हो । तपाईं–हाम्रो असावधानीले पनि मान्छेमा धेरै भय र आतंक सिर्जना हुन सक्छ । रचनात्मक सहयोग गर्ने खालको वातावरण बन्यो भने हामी आमनागरिकलाई सचेत गराउने र यो रोगबाट बचाउने कुराका लागि सहयोगी बन्न सक्छौं।
त्रिभुवन विमानस्थलको हेल्थ डेस्कलाई अझ उन्नत, व्यवस्थित र परिमार्जित गर्दैै राज्यका तर्फबाट विशेष ध्यान दिनेछौं । संक्रमण हुन नदिन सबैको सजगता आवश्यक छ । रोगको सीमा छैन ।
सबैतिरबाट आउँछ । हामी आवश्यक सावधानीमा रहनुपर्छ। क्षमताले भ्याएसम्म राज्यका तर्फबाट रोगको भय आतंक प्रवेश गर्न नदिन र रोग निर्मूलका लागि हाम्रो सजग प्रयत्न रहनेछ ।