सोमवार देखि एक साता बर्दियामा लकडाउन

१२ वैशाख, काठमाडौं । बर्दियामा सोमबारदेखि लागू हुने गरी लकडाउन गरिएको छ । कोरोना भाइरस संक्रमणको दर बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाउने आदेश जारी गरिएको हो ।
स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय पनि बन्द गर्न भनिएको छ । अनुमति प्राप्त, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायबाहेकको सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसार यो आदेश गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लालीबजार र ओराली बजार क्षेत्रमा लागू हुनेछ ।
त्यस्तै, ठागुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजापुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा नगरपालिकाको शान्ति बजार र पशुपतिनगर बजार क्षेत्रमा पनि यो निर्णय लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस