महंगो कार किन्ने मेयरलाई खेलौना कार उपहार


१२ वैसाख बाँके । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतलाई खेलौना कार (क्रेटा कार)उपहार दिएको छ । कोरोना महामारीको समयमा कोहलपुर नगरपालिकाले महंगो मूल्यमा कार खरिद गरेको विषयलाई विरोध जनाउँदै अखिल (क्रान्तिकारी)ले आइतबार नगरप्रमुख रावतको कार्यकक्षमै गएर सांकेतिक विरोधस्वरुप ‘क्रेटा कार’ उपहार दिएको हो ।
त्यसक्रममा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कोहलपुर नगर कमिटीका संयोजक लक्ष्मण मानवले प्रमुख रावतलाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।

संयोजक मानवद्धारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन नियम, कानुन तथा जनभावना विपरित नगरपालिकाले लाखौं मूल्य बराबरको ‘क्रेटा कार’ खरिद गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

कोहलपुर नगरपालिकामा आवश्यकताभन्दा चार पाङ्गे र दुुई पाङ्गे सवारी साधन खरिद गर्न थालेपछि अहिले चर्को आलोचनासमेत भइरहेको छ । कोहलपुर नगरपालिकामा विलासी सवारी खरिद गर्ने होडबाजी छ ।

खरिद गरिएका सवारी साधनहरुको दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ । सरकारी सवारी साधन दुरुपयोग गर्ने नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी पहिलो प्राथमिकतामा पर्न थालेका छन् ।
केही दिनदेखि कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत चढ्नका लागि खरीद गरिएको विलासी भे १ झ ३२९ नम्बरको ‘क्रेटा कार’ सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ ।

कोहलपुर नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरु एम्वुलेन्सबिहीन रहेका बेला मेयरको विलासिताका लागि ५० लाख बढी मुल्य पर्ने हुण्डाईको क्रेटा कार खरीदपछि अहिले चौतर्फी चर्को आलोचना भइरहेको छ ।
कारभन्दा एम्बुलेन्स आवश्यक भएको भए पनि विलासिताका लागि महङ्गो कार खरीद गरेर राज्यको ढुकुटीमा ब्रह्मालुट मच्चाएको भन्दै सामाजिक सञ्जालमा मेयर रावतको चर्को आलोचना भइरहेको छ । आवासको सेवा लिने कर्मचारीलाई समेत सुविधाका लागि भन्दै गाडी खरिद गरिएको भन्दै सबैतिरबाट बिरोध भइरहेको छ ।

नगरपालिकाले बर्सेनी नयाँ गाडी खरिद गरेर सरकारी सम्पत्ति फजुल दोहन गरिरहँदा एउटा एम्बुलेन्स खरीद गर्न सकेको छैन ।
नगरपालिकाले विलासिताका लागि सवारी साधन खरिद गरेर फजुल खर्च गरिएको स्थानीयहरु बताउँछन् ।

‘बर्थिङ सेन्टरबाट बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको अवस्थामा सधैँ एम्बुलेन्सको अभाव खट्किन्छ ।’ स्वास्थ्य शाखामा कार्यरत एक जना कर्मचारीले भने । अहिले कोरोना महामारीमा कोहलपुरका कुनै पनि स्वास्थ्य संस्थामा एम्बुलेन्स नहुनुको पीडा कोहलपुरको सहरीभन्दा ग्रामीण क्षेत्रका नागरिकलाई बढी छ ।

‘कोहलपुरका लागि कम्तीमा एउटा एम्बुलेन्स आवश्यक ठानेर बारम्बार बजेट विनियोजन भएको छ,’ एक जना कार्यपालिका सदस्यले भने, ‘कार्यपालिकाले गरेको निर्णयअनुसार एम्बुलेन्स खरिद हुन सकेको छैन ।

केही साथीहरुको व्यक्तिगत स्वार्थका लागि बजेट खर्च भइरहेको छ ।’ मेयर र उनी निकटका आसेपासे जनप्रतिनिधिका कारण नगरपालिकाको विकास निर्माण शुन्यजस्तै अवस्थामा देखिएको कोहलपुरबासीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस