योगेन्द्र पुनलाई तत्काल रिहा गर्न युवा सङ्गठन कपिलवस्तुको चेतावनी

९ असोज,कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल कपिलवस्तुले भारतको सिमानाबाट अबैध तस्करी गरेर ट्रकमा ल्याउँदै गरेको १६० भन्दा बढी बाख्रा कब्जा गरी प्रहरीलाई बुझाउने क्रममा सङ्गठनका जिल्ला सदस्य योगेन्द्र पुनलाई बिनाकारण वडा प्रहरी कार्यालय चन्द्रौताका प्रहरी इन्स्पेक्टर शङ्खर आचार्यको टोलीले गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न चेतावनी दिएको छ ।

सङ्गठनका जिल्ला अध्यक्ष सागरले शनिबार वक्तव्य जारी गरी जिल्लामा भएको अबैध तस्करी, कमिसनखोर र बिचौलियाहरूका विरुद्ध सङ्घर्ष गर्दा गृहप्रशासनले निकृष्ट हर्कत गरेको भन्दै गिरफ्तारीको कडा निन्दा एवम् भत्र्सना गर्नु भएको छ ।

अध्यक्ष सागरले वक्तव्यमा भन्नु भएको छ “हाम्रो सङ्गठनले २०७८ असोज ८ गते भारतको सिमानाबाट अबैध तस्करी गरेर ट्रकमा ल्याउँदै गरेको १६० भन्दा बढी बाख्रा कब्जा गरी प्रहरी प्रशासनलाई बुझाउने क्रममा हाम्रो सङ्गठनका जिल्ला सदस्य योगेन्द्र पुनलाई बिनाकारण वडा प्रहरी कार्यालय चन्द्रौताका प्रहरी इन्स्पेक्टर शङ्खर आचार्यको टोलीले गिरफ्तार गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

वक्तव्यमा भनिएको छ, “जिल्लामा भएको अबैध तस्करी, कमिसनखोर र बिचौलियाहरूका विरुद्ध सङ्घर्ष गर्दा गृहप्रशासनले गरेको निकृष्ट हर्कत र गिरफ्तारीको कडा निन्दा एवम् भत्र्सना गर्दै कमरेड योगेन्द्र पुनलाई तत्काल रिहा गर्न चेतावनी दिन चाहन्छौँ । जिल्लामा हुने सबैखाले अबैध तस्करी, भ्रष्टाचार र कमिसनखोर तत्काल नरोके थप कडा सङ्घर्ष गर्नेसमेत जानकारी गराउँदछौँ ।”

कपिलवस्तुको बिजयनगर गाउँपालिकाको जौबराट र छुटपाटी नाकाबाट बर्षौदेखि प्रशासन र बिचौलियाहरूको मिलेमतोमा तस्करी हुँदै आएको भन्दै यसले राज्यलाई अर्बौंको राजस्व क्षति भइरहेको वक्तव्यमा उल्लेख गरिएको छ ।

दशैँ तथा विभिन्न चाडपर्वको बेलामा बिचौलिया, कमिसनखोर र तस्करीहरू अझ सल्बलाइरहेका भन्दै आफ्नो सङ्गठनका जिल्ला सदस्य पुनको गिरफ्तारीले बिचौलिया, तस्कर र प्रहरी प्रशासनको मिलेमतोमा यस्ता कार्य हुँदै आएको युवा संगठनले आरोप लगाएको छ ।

युवा सङ्गठनले शुक्रबार भारतको सिमानाबाट अबैध तस्करी गरेर ट्रकमा ल्याउँदै गरेको १६० भन्दा बढी बाख्रा शिवराज नगरपालिकाको शिवपुरमा स्टोर गरी राखेको अवस्थामा कब्जा गरी प्रहरी प्रशासनलाई बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस