प्रधानमन्त्री र पूर्व प्रधान्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता


१३ माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोपमा वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले अवहेलना मुद्दा दर्ता गराउनु भएको हो । उहाँहरूले छुट्टाछुट्टै मुद्दा दर्ता गराउनु भएको छ ।
निवेदनमा प्रधानमन्त्री ओलीले कानुन व्यवसायी र अधिवक्ताहरूमाथि गरेको टीकाटिप्पणीले अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको आरोप लगाइएको छ ।
प्रधानमन्त्री ओलीले गत शुक्रबार विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गरेका कानुन व्यवसायीमाथि व्यंग्य गर्नु भएको थियो । उहाँले ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लिएर ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन्, त्यहाँ तमासा देखाउन । किन दुःख दिएको हो, बूढा मान्छेलाई?’ भन्ने अभिव्यक्ति दिनु भएको थियो ।
तर, सोमबार ओलीले दाङमा भएको सभालाई सम्बोधन गर्दै आफूले वकिलको मानमर्दन गर्न नखोजेको बताउनु भएको छ ।
यस्तै, पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको छ । पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मीनबहादुर रायामाझीले प्रतिनिधिसभा विघटनका सम्बन्धमा विज्ञप्ति जारी गर्नु भएको थियो । उहाँहरुले असंवैधानिक तवरबाट सरकारले संसद् विघटन गरेको बताउनु भएको थियो ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ । सोही मुद्दामा सर्वोच्चमा निरन्तर सुनुवाई भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस