राजनीतिक अभिष्ट पूरा गर्न सरकारले आतंक फैलायो ः कांगेस

१२ जेठ, काठमाडौं । नेपाली कांगेसले कोरोना महामारीको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएको छ ।

बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड– १९ संक्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री ओलीले आफ्ना अवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पूरा गर्नका लागि कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको ठहर बैठकले गरेको छ ।

बैठकपछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै सहमहामन्त्री प्रकाशशरण महतले कोभिडका नाममा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धी गर्ने कोसिसमा सरकार अघि बढेको बताउनु भयो ।

कांग्रेसले उपचार नपाएर र अक्सिजन नपाएर कोभिड संक्रमितहरुको ज्यान गइरहेको तथा दुर्गम लगायत क्षेत्रमा कोरोना परीक्षण हुन नसकिरहेका बेला उपचार, रोकथाम र राहततर्फ केन्द्रित हुनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

तत्काल सडकमा उत्रिने अवस्था नरहेकाले संञ्चार, सामाजिक सञ्जाल, नागरिक समाज लगायत मार्फत निरन्तर रुपमा राष्ट्रपति र सरकारको असंवैधानिक कदमविरुद्ध लाग्नुको साथै कानूनी र राजनीतिक लडाईलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस