राष्ट्रपति कार्यालय अगाडि धर्ना दिने १२ मानवअधिकारकर्मी पक्राउ

माघ १३, काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको सभामुखमा निर्वाचित अग्नि सापकोटालाई पद तथा गोपनीयताको शपथ खुवाउन नहुने भन्दै धर्ना दिने १२ मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवास अगाडि धर्ना दिइरहेका मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाईले जानकारी दिनु भयो ।

प्रहरीले पक्राउ गरेकाहरुमा द्वन्द्वपीडित पूर्णीमाया लामा, एमनेष्टी इन्टरनेशनलका निराजन थपलिया, चरण प्रसाई, द्वन्द्वपीडित साझा चौतारीका महासचिव जनक राउत रहनु भएको छ पूर्णीमाया द्वन्द्वकालमा हत्या गरिएका अर्जुन लामाकी श्रीमती हुनु हुन्छ ।

लामालाई सभामुख सापकोटाले हत्या गरेको आरोप लागेको छ । सो सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ । पूर्णिमायाको धर्ना दिने कार्यक्रममा साथ दिन अन्य मानवअधिकारीबादीहरु राष्ट्रपति कार्यालय अगाडि पुगेका थिए।

पक्राउ पर्ने अन्य मानवअधिकारकर्मीहरुमा महामुनिश्वर आचार्य, एलिना गौतम, विपिन बुढाथोकी, शंकर बुढाथोकी, बालकृष्ण घिमिरे, जेसेलिना राणा, प्रशान्त त्रिपाठी र राजन कुइँकेल रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस