१३ जेठ, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बिहीबार मध्यरातिबाट लागू हुने गरी एक साता लकडाउन घोषणा गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रणका लागि भन्दै भिक्टोरिया राज्य सरकारले लकडाउनको घोषणा गरेको हो ।
अहिलेसम्म भिक्टोरियामा कोरोनाका २६ नयाँ संक्रमित फेला परेका छन् । साथै उनीहरुबाट कोरोना संक्रमण सर्न सक्ने १५० स्थानको पहिचान गरिएको छ ।
भिक्टोरियामा कोरोना संक्रमण देखिएसँगै मानिसहरुमा चिन्ता बढेको छ । गत वर्ष भिक्टोरियामा कोरोना संक्रमण फैलिएसँगै निकै कडा लकडाउन लागू गरेर संक्रमण नियन्त्रण गरिएको थियो ।
भिक्टोरियाका कार्यवाहक प्रिमियर जेम्स मर्लिनोले पछिल्लो समय भिक्टोरियामा भेटिएका संक्रमितमा भारतमा देखिएको भेरियन्ट (बी.१.६१७) पनि देखिएको बताउनु भएको छ ।
यो भेरियन्ट निकै संक्रामक रहेको उहाको भनाइ छ । अहिले भेटिएका संक्रमित ठूला कार्यक्रमहरुमा सहभागी भएको पाइएको छ । ती कार्यक्रममध्ये एक मेलवर्नको स्टेडियममा भएको फुटबल खेल पनि हो ।
मर्लिनोले अझै केही समय पर्खिने हो भने कोरोना महामारी नियन्त्रणभन्दा बाहिर जाने बताउनु भएको छ ।
अहिले घोषणा गरिएको लकडाउनसँगै अब भिक्टोरियामा अत्यावश्यक काम, किनमेल, शारीरिक अभ्यास, स्वास्थ्य सेवा वा खोप लगाउने बाहेकको कामका लागि बाहिर जान पाइने छैन ।
आवश्यक परेर बाहिर निस्किँदा पनि मास्क अनिवार्य गरिएको छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस