कोरोना भाइरसबाट मृत्यु हुने चिनियाँको संख्या १०६ पुग्यो

माघ १४, हुबेई । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १०६ पुगेको छ । भाइरस संक्रमण भएका बिरामीको संख्या करिब ४ हजार २ सय पुगेको पुष्टि गरिएको छ ।

कोरोना भाइरस नियन्त्रण प्रयास जारी रहेको समय नयाँ वर्षका अवसरमा दिइने बिदालाई आगामी आइतवारसम्म विस्तार गरिएको छ ।

सोमबार प्रधानमन्त्री ली खछ्याङले कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुबेई प्रान्तको राजधानी वुहान सहर पुग्नु भएको छ । हुबेईमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या सोमबार साँझसम्म १०६ पुगेको हो ।

चीनले वुहानलाई अन्य भूगोलसँग छुट्याएर रोग फैलिन नदिने प्रयास गरेको छ भने अन्य करिब एक दर्जन स्थानको भ्रमण गर्न वा त्यहाँबाट अन्यत्र जानमा रोक लगाएको छ ।

सांघाईमा आगामी फेब्रुअरी १० तारिखसम्म औद्योगिक तथा व्यापारिक गतिविधिलाई पुनः सञ्चालन नगर्न सरकारले निर्देशन जारी गरेको छ ।
यो निर्देशन दैनिक उपभोगका सामानहरू, सुपरमार्केट, औषधी आपूर्तिकर्ता र औषधी उद्योगका लागि भने लागु नहुने बताइएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस अधानम गेब्रियसस महामारीको नियन्त्रणका लागि चिनियाँ सरकार र स्वास्थ्य अधिकारीसँग छलफल तथा विचार–विमर्श गर्न बेइजिङ पुगेका छन् ।

पछिल्लो जानकारी अनुसार अहिलेसम्म ४ हजार २ सय जनामा संक्रमण भएको पुष्टि भएको छ भने पाँच हजार ७९४ बिरामीहरूलाई शंकाको आधारमा निगरानीमा राखी उपचार गरिराखिएको छ ।

बिरामीमध्ये ४६१ जनाको स्वास्थ्य अवस्था गम्भीर भएको र ५१ जनालाई पूर्णरूपमा निको भएपछि अस्पतालबाट घर पठाइएको छ ।

चीनबाहेक अन्य मुलुकका ४४ जनालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । पछिल्लो रिपोर्ट अनुसार थाइल्याण्डमा आठ, अमेरिका पाँच, अस्ट्रेलियामा पाँच र सिंगापुर, ताइवान, मलेसिया, दक्षिण कोरियामा चार–चार जना संक्रमित भेटिएका छन् ।

त्यस्तै, फ्रान्स र जापानमा तीनरतीन जना भियतनाममा दुई र नेपाल र क्यानाडामा एक–एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको विश्व स्वास्थ्य संगठन र सम्बन्धित मुलुकका अधिकारीले पुष्टि गरेका छन् ।

चिकित्सकका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस संक्रमणपछिका लक्षण हुन्। यस भाइरसको संक्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्को एक समस्या हो ।

यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा सुरु गर्न लागेको जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले उहानस्थित आफ्ना कन्सुलर कार्यालयमा कार्यरत कर्मचारी र अरू अमेरिकीलाई उद्धार गर्न चीनको उहानतर्फ अमेरिकी विमान मंगलबार प्रस्थान गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस