विप्लव नेतृत्वको नेकपा नेतृ उमा भुजेलसहित ४ जना गिरफ्तार

पुष १२, बिराटनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची–कोसी ब्यूरो इञ्चार्ज उमा भुजेल (शिलु) सहित चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

पक्राउ पर्नेमा नेतृ भुजेलसहित मेची कोशी व्युरो कार्यलय सचिव सुमसिंह पौडेल, नेकपा मोरङका इन्चार्ज नरेश चौलागाई र क्षीतिज पौडेल रहेको प्रहरीले जनाएको छ ।

प्रदेश १ प्रहरी र विशेष ब्यूरो संयुक्त टोलीले भुजेल र सचिव पौडेललाई शनिबार बिहान सुनसरीबाट पक्राउ गरेको हो । नेतृ भुजेललाई प्रहरीले यसअघि पनि काठमाडौंबाट पक्राउ गरेको थियो । सर्वोच्च अदालतको आदेश पछि उहाँ रिहा हुनुभएको थियो ।

भुजेल तत्कालीन माओवादीका तर्फबाट गोरखा जेलब्रेक गर्ने महिलाको समूहको प्रमुख सदस्य पनि हुनुहुन्छ । भुजेल सहितको टोलीले २०५७ साल चैत १७ गते गोरखा जेल ब्रेक गरेको थियो । उनीहरुलाई चक्रघट्टिमा राखिएको जनाईएको छ ।

यसअघि मोरङ इन्चार्ज चौलागाइँ र क्षितिजलाई मोरङको सोमबारेबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस