पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी


१३ कात्तिक, काठमाडौं । मुकेश चौरसियाको हत्या आरोपमा उहाँको परिवारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध प्रहरीमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएको छ ।
पहिले जाहेरी लिन नमानेको प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा बिहीबार जाहेरी दर्ता गरेको हो ।
पीडित परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी दिएको पर्साका डीएसपी मनोजित कुँवरले जानकारी दिनु भयो । किटानी जाहेरी परेकामध्ये ३ जना हिरासतमा छन् भने अरुलाई प्रहरीले पक्राउ गरेको छैन ।यसअघि जाहेरी लिन अस्वीकार गरेको भन्दै नेकपाका नेता तथा कार्यकर्ताहरुले पर्सामा प्रहरी कार्यालयबाहिर प्रदर्शन र नाराबाजी गरेका थिए ।
प्रहरीले जाहेरी लिन नमानेपछि मृतकका परिवारले एकसातादेखि चौरसियाको शव समेत बुझेका थिएनन् । प्रहरीले जाहेरी लिएसँगै मृतकका आफन्तले चौरसियाको शव बुझ्ने तयारी भइरहेको र पोष्टमार्टमपछि शुक्रबार अन्त्येष्टि गरिने नेकपा वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीले जानकारी दिनु भयो । चौरसियाको शवलाई अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।
नेकपाको विन्दवासिनी गाउँपालिका कमिटीकोसपथ ग्रहण कार्यक्रममा कात्तिक ६ गते दुई पक्षबीच झडप हुँदा चौरसिया गम्भीर घाइते भएका हुनु भएको थियो । उहाँको उपचारको क्रममा वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस