सडकबाट प्रचण्ड–माधवको चेतावनी– ओली नसच्चिए सकिन्छन्


१४ पुस, काठमाडौं । संसद विघटनविरुद्ध नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले मंगलबार देशभर विरोध प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकामा भएको प्रदर्शनमा जनसहभागिता उत्साहजनक रहेको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले जानकारी दिनु भयो ।
यो समूहले मंगलबार बागमती प्रदेशबाहेक सबै जिल्लाहरु जिल्लास्तरीय विरोधसभा गरेको छ । काठमाडौंमा केन्द्रित गरिएको बागमती प्रदेश स्तरीय प्रदर्शन राजधानीका विभिन्न स्थानबाट शुरु भएर प्रदर्शनीमार्ग पुगी सभामा परिणत भएको थियो । यो सभालाई शीर्षनेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले सम्बोधन गर्नु भएको छ ।
सम्बोधनका क्रममा नेताहरुले असंवैधानिक र अराजनीतिक ढंगबाट गरिएको संसद विघटनको निर्णय स्वीकार्य नहुने बताउनु भएको छ । सँगै, आगामी संघर्षको कार्यक्रम कस्तो हुन्छ भन्ने सन्देश पनि नेताहरुले दिए । नेता योगेश भट्टराईका अनुसार बुधबार पेरिसडाँडाबाट आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरिने छ ।
केपी शर्मा ओलीलाई गैरकम्युनिष्ट र तानाशाहीकै संज्ञा दिएका नेताहरुले संसद विघटन गर्ने कदमप्रति ओलीले गम्भीर माफी माग्दै सच्चिन तयार भए फेरि पनि मिल्न राजी हुने प्रष्ट पारेका छन । विशेषगरी प्रचण्ड र माधव नेपालले ओलीले माफी मागे सबै कुरा बिर्सन तयार हुने बताउनु भएको छ ।
अझै पनि पार्टी एकता कायम राख्ने प्रयासमा जुटिरहेका नेता वामदेव गौतमप्रति संकेत गर्दै नेपालले भन्नु भयो , ‘केपी ओलीलाई सुधार्न भनेर कोहीकोही कमरेडहरु प्रयास गरिरहनु भएको छ । त्यो प्रयास जारी राख्नुहोस् । बालुवाटारको बालुवा पेल्दापेल्दा तेल निस्कन्छ कि ! तेल निकाल्न सक्नुहुन्छ भने म स्याब्बास भन्छु ।’
ओली सच्चिए सबै कुरा बिर्सन तयार हुने पनि नेपालले बताउनु भयो । ‘अझै पनि त्यो असंवैधानिक कदमबाट पछि हट्नुहुन्छ, सच्चिनु हुन्छ भने हामी सबै कुरा बिर्सन तयार छौं’, नेपालको भनाइ थियो ।
तर, त्यसका लागि ओलीले पश्चाताप गर्नुपर्ने प्रचण्डले सर्त राख्नु भयो । ‘जबजम्म केपी ओलीले पश्चात गर्ने छैनन्, आफैंले बनाएको संविधानको बलात्कार गरेँ, म अपराधी हुँ भन्ने छैनन्, तबसम्म इतिहासले माफी दिने छैन, नेपाली जनताले क्षमा दिने छैनन, प्रचण्डको सर्त थियो ।
यदि, ओली नसच्चिए आफ्नो तर्फबाट कुनै पहलकदमी नहुने पनि दुवै नेताले प्रष्ट्याउनु भएको छ । ‘भीरबाट लडेर मर्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन’, नेपालको भनाइ थियो ।
अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई देश र पार्टीका लागि कुपुत्र नबन्नसमेत आग्रह गर्नु भयो ।

प्रचण्ड र नेपालजस्तै स्वरमा झलनाथ खनाल र अष्टलक्ष्मी शाक्यले पनि ओलीलाई तानाशाहीको आरोप लगाउनु भयो । ‘बालुवाटार पुगेको दिनदेखि पार्टी बिर्सनु भो । यो पार्टीलाई भ¥याङ बनाइदिनुभयो । त्यसपछि पार्टीको नीति बिर्सनुभयो’, खनालले ओलीलाई पञ्चायती प्रधानमन्त्रीसँग तुलना गर्नुृ भयो , ‘यो तीन वर्षमा खेर गयो । यो तीन वर्षमा मरिचमान (सिंह) ले गरेजति पनि गरेनन् । नगेन्द्रप्रसाद रिजालले जति पनि काम गरेनन् ।’

 

प्रतिक्रिया दिनुहोस