कोरोना कहरपछि विश्व अर्थ व्यवस्थाको पुनर्उत्थान

 

माल्थसले सत्रौ शताव्दी मै प्रतिपादन गरेको सिध्दान्त मुताविक जनसंख्याको प्राकृतिक नियन्त्रण (Preventive Check) का लागि विश्वले पटकपटक फेरी महामारी व्यहोर्नु परेको छ। तर अहिले उनले कल्पना गर्न नसकेको विज्ञान र प्रविधीको विकासले यसको रोकथाममा प्रवर्धनात्मक नियन्त्रण (Promotional check) को पनि उत्तिकै विकास भएको छ । पृथ्वीमा असंतुलन भए पछि प्रकृतीले नै संतुलन कायम गर्छ भन्ने माल्थसको सत्रौ शताव्दी तिरको विचार अहिले पनि उत्तिकै सत्य छ भन्ने कुरा विश्व भर फैलिएको कोरोना महामारीले पुष्टी गरेको छ । अहिलेको विज्ञान प्रविधीको विकासले गर्दा पहिला जस्तो ठूलो संख्यामा मानविय क्षती हुन नदिई महामारीको प्रत्यक्ष प्रकोप त अवको दुई महिना भित्र सकिनेछ तर यसले विश्वलाई एउटा नया सवक सिकाएर जानेछ ।

विशेष गरी अहिलेको भौतिक युगमा यसले पार्ने आर्थिक संकट दूरगामी हुनेछ । जुन संरचनामा विश्वले आर्थिक वृध्दी गर्दै आएको थियो अव त्यो संरचनामा नै परिवर्तन हुने छ । कतिपय मुलुकहरुका लागि यसले थप अवसर पनि सृजना गर्ने छ । विशेषत यसले जनस्वस्थ्य र कार्य प्रणालीको क्षेत्रमा नयाँ प्रोटोकलहरु स्थापित गर्नेछ भने सो अनुरुपको नया प्रविधीको विकास पनि गर्नेछ । तथापी हालको प्रकोपले मात्र पृथ्वीमा पूर्ण संतुलन भने कायम हुन सक्ने छैन । तसर्थ विज्ञान र प्रविधीलाई प्रवर्धनात्मक नियन्त्रणमा उच्चतम प्रयोग भने निरन्तर गर्नु पर्ने हुन्छ। अन्यथा माल्थसले भने जस्तै प्राकृतिक नियन्त्रणका रुपमा नया नया प्रकोपहरु दोहोरिरहनेछन । विश्वले सिक्नु पर्ने मूल विषय नै यही हो।

हुन त यस्तो प्रकोपको बेला कुनै व्यवस्थालाई दोष दिनु उपयुक्त नहोला तर पनि यो उदार अर्थव्यवस्थाको उपज हो भन्ने कुरा अनुभवले पुष्टी गरेको छ । सरसर्ती हेर्दा पनि उदार अर्थतन्त्रका हिमायती अमेरिका युरोप जस्ता मुलुकहरुमा यसको फैलावटको प्रकोप तुलनात्मक रुपमा उच्च छ जवकी तुलनात्मक रुपमा बन्द अर्थव्यवस्था भएका मुलुक जस्तै क्यूवा, उत्तर कोरिया, रसियन मुलुकहरु र दक्षिण एशियाली मुलुकमा कम प्रभाव परेको देखिन्छ भलै यसको उद्गम स्थल राज्य नियन्त्रित पूजिवाद (State Capitalism) भएको मुलुक चीनबाट भयो । चीनमा यसको उद्गम हुनुमा पनि त्यसले अंगालेको आर्थिक खुलापन केही हदसम्म जिम्मेवार छ ।

सन १९३० को महामंदी पछि विकास गरिएको यो आर्थिक नीति अठारौ शताव्दीमा एडम स्मीथले सिध्दान्तवध्द गरेको खुला बजारमा आधारित छ । वास्तवमा अर्थशास्त्री किंसले महामंदीका बेला किंग्नेसीयन अर्थशास्त्रको विकास गरे जसले उपभोग बढाउनका लागि सरकारले बजारमा हस्तक्षेप गर्नु पर्ने अवधारणा राख्दछ । भनिन्छ समाजबाद उन्मुख यो कुरालाई प्रतिष्थापन गर्न नै नवउदारबाद ल्याइएको थियो जसलाई बेलायतकी तत्कालिन प्रधानमंत्री मार्गरेट थ्याचरले विश्वभरी संरचनागत सुधार (Structural Adjustment) को नामबाट फैलाइन । त्यसैले यो “थेयाचरिज्म” को नामबाट पनि चर्चित छ ।

यो नीतिलाई संसार भर फैलाउनका लागि अन्तराष्ट्रिय मूद्रा कोष, विश्व बैंक, अन्तर अमेरिकी विकास बैंक जस्ता बहुपक्षीय संस्थाहरु लागी परे । यो नीतिले विशेषत धनीलाई झन धनी र गरिवलाई झन गरिव बनाउने माहौल बनाएको कुरा यसका आलोचकहरुले बताउदै आएका छन।मार्क्सवादीहरुले उदारवादलाई राज्यसत्तामा कूनै निश्चित वर्गको वर्चस्व कायम राख्न तात्कालिन पूजिपतीहरुले ल्याएको नीतिगत ओजारका रुपमा लिन्छन। उदारवादकै परिणाम स्वरुप विश्वले सन् २००७/०९ को वित्तीय संकट भोग्नु पर्यो।

उक्त संकट पछि भने यो नीतिमा सुधार गरी संरक्षणवादलाई ‌अंगिकार गरिसकिएको छ । अर्को महत्वपूर्ण कुरा तुलनात्मकरुपमा कम उदार अर्थतंत्र भएका मुलुकहरुमा प्रकोप उत्थानशीलता (Resilience) पनि प्रभावकारी देखियो । एउटा सत्य के हो भने मानव सभ्यताको विकासक्रममा जुन नश्लको मानिस जहा विकास भएको छ त्यहा वरिपरिको जडिबुटीयुक्त खानाले उसमा रोग प्रतिरोधी क्षमता प्राकृतिक रुपले नै बनेको हुन्छ । तर नवउदारवादले त्यस्तो स्थानीय खाध्य प्रणालीलाई नस्ट गरी खानाको सर्वव्यापीकरण गर्यो जसले गर्दा संवन्धित नश्लका व्यक्तीमा हुने प्रतिरोधी क्षमता गुम्दै गयो । विश्व व्यापार संगठनको स्थापना पछि यसमा झनै तिक्रता आयो। परिणामत जुनसुकै रोग पनि निमेश भर विश्वव्यापी हुन सक्ने अवस्था रह्यो।

अहिलेकै अनुभवले पनि कम उदार अर्थतंत्र भएका मुलुकमा त्यस्तो क्षमता गुमेको रहेनछ कि भन्ने देखाएको छ । त्यसैले अबको विश्व अर्थतंत्रलाई पुनर्संरचना गर्न जरुरी छ भन्ने कुरा यो महामारीले उजागर गरेकोछ । अवको विश्व अर्थतंत्रलाई पुनर्उत्थान गर्न संरक्षित उदारवाद (Protective Liberalism) को अवधारणा अपनाउनु श्रेयसकर देखिन्छ । यसले हुने नहुने बीचको खाडल त पूर्छ पूर्छ नश्ल अनुसारको स्थानीय खाध्य प्रणालीको विकास गरी प्रतिरोधी क्षमता बडाउछ। यसबाट वातावरण जोगिने मात्र होईन मानवीय विविधता र बहुलताको पनि सम्मान हुन्छ ।

कोरोना महामारी पछि सबै भन्दा बढी असर अर्थव्यवस्थामा पर्ने कुरामा दुई मत छैन । यसले जनजीवनमा पार्ने बहुआयामिक प्रभाव त छदैछ मानिसमा पर्ने आर्थिक त्रास (Economic Shock) दीर्घकालिन हुने संभावना उत्तिकैछ । हुन त अर्थशास्त्रीहरुले सन् २०१८ देखी नै अर्को चरणको आर्थीक संकट शुरु भैसकेको प्रक्षेपण गरिसकेका थिए तर त्यो बाहिर देखिएको थिएन। अहिलेको महामारीले त्यसलाई सतहमा ल्याउने मात्र हैन पहिलेका आर्थिक संकट भन्दा गंभिर र दीर्घकालिन हुने अवस्था देखाएकोछ ।

चीनको वुहानमा शुरु भएको प्रकोपको एक महिनामै विश्वले ५ ट्रिलियन डलर नोक्सान व्यहोरीसकेको थियो भने स्मार्ट फोनको माग सन् २०२० मा ४० प्रतिशतले घट्ने अनुमान गरिएको छ । अहिले विश्वको अर्थतंत्र २.९ प्रतिशतले वृद्धि भैरहेकोमा यस्तो वृद्धि १.५ प्रतिशत विन्दूले खुम्चिने प्रक्षेपण अर्थशास्त्रीहरुले गरिसकेका छन । अर्थतंत्रको गतिमा एक प्रतिशतले कमि आउदा गरिवको संख्या २ प्रतिशतले बढ्ने अर्थशास्त्रीहरुले आकलन गरेका छन। तदनुरुप विश्वमा गरिवको संख्या कम्तिमा पनि १ करोड ४० लाखले त तत्कालै बढनेछ। तर यो संख्यामा अर्थतंत्रमा देखिने विभन्न त्रास (Shock) ले गर्दा गुणात्मक वृद्धि हुनेछ। यो संख्या सबै भन्दा वढी अफ्रिकी र दक्षिण एशियाली मुलुक मै हुनेछन। महामारी पछि सृजना हुने व्यापार त्रास (Trade Shock) ले तुलनात्मक रुपमा अफ्रिकी मुलुकलाई बढी असर पुर्याउने देखिन्छ किनकि अफ्रिका व्यापारमा बढी आधारित छ ।

त्यस्तै यो महामारी पछि उत्पादकत्वमा १.४ प्रतिशतले ह्रास आउने प्रक्षेयण छ। यसले दक्षिण एशियालाई उत्पादकत्व त्रास (Productivity Shock) ले गाज्नेछ किनकि यी मुलुकहरुमा गैह्र कृषी उत्पादन बढ्दोक्रममा थियो । यसको सबै भन्दा ठूलो असर साना तथा मध्यम उध्योगहरुलाई पर्नेछ। चीनमा कूल गार्हस्त उत्पादनमा ७० प्रतिशत योगदान पुर्याउने यस्ता उध्योगहरु सबै भन्दा बढी प्रभावित भएकाछन । त्यसमा पनि निर्यातजन्य उध्योग झनै प्रभावित हुदा रहेछन । यसले व्यवसाय गर्ने लागत (Cost of doing business) पनि ५ प्रतिशतले बढ्न जाने आकलन गरिएको छ जसले कूल गार्हस्त उत्पादनमा एक प्रतिशतले कमी ल्याउछ । सबै भन्दा बढी असर पार्ने व्यवसायिक क्षेत्र भने पर्यटन हुनेछ जसलाई पुनर्उत्थान गर्न बर्षौ लाग्नेछ ।

त्यसै पनि विज्ञान र प्रविधीका कारण खुम्चिदै गएको रोजगारीमा यो महामारीले गर्दा विश्व बजारमा २.५ करोड रोजगारी गुम्ने आकलन अन्तराष्ट्रिय श्रम संगठनले गरेको छ । अधिकांश मुलुकहरु विशेषत जसको अर्थतंत्र विप्रेषणमा आधारित छन उनीहरुले “डच डिजिज” को प्रकोपबाट गुज्रिनु पर्नेछ । विप्रेषणको बैकल्पिक अर्थ व्यवस्था बारे कुनै तयारी नभएका नेपाल जस्ता मुलुकमा सृजना हुने भयावह अवस्था थप जोखिमपूर्ण हुनेछन ।

यो महामारी पश्चात उत्पादन प्रणाली मै संरचनागत परिवर्तन हुनेछ जसमा रोजगारी सृजना गर्ने भन्दा कम भन्दा कम मानिसको प्रयोगले उत्पादन बढाउने उपाय खोजिनेछ । बैंकिंग तथा बजार कारोबार विधुतीय प्रणालीबाट हुने हुदा तत् तत् क्षेत्रमा रहेको रोजगारीमा समेत भारी कटौती हुनेछ । अमेरिका यूरोप लगायतका सम्पन्न मुलुकहरुमा समेत आर्थिक संकट हुनेहुदा विकासशील मुलुकमा हुने बैदेशिक सहयोग र लगानीमा गिरावट आउनेछ । यसले गर्दा श्रम आपूर्ति गर्ने मुलुकलाई देशभित्रै ठूलो मात्रामा रोजगार सृजना गर्न दवाव पर्नेछ ।

यसको लागि राज्यको आन्तरिक श्रोतले कति थेग्न सक्छ तथा यसको परिचालन कति प्रभावकारी ढंगले हुन्छ भन्ने कुरामा भर पर्छ । नेपाल जस्तो सार्वजनिक खर्च गर्न सक्ने क्षमता तथा राजश्व प्रभावकारीता (Revenue Efficiency) संतोषजनक नभएको मुलुकलाई यो ठूलो चुनौतीको घडी हुनेछ । यस्ता मुलुकहरुले अर्थव्यवस्थामा हुने उच्च राजनितिकरण, विचौलियापन, अदृश्यता (D-Economy) तथा अनुत्पादक भद्दा संरचनाहरुलाई संरक्षित उदारवाद (Protective Liberalism) को नया ढाँचामा पुनर्संरचना नगरी अर्थव्यवस्थाको पुनर्उत्थान हुन संभव हुनेछैन ।

विश्वव्यापी महामारीले केही अवसरहरु पनि सृजना गर्नेछ । सर्वप्रथम त यसले उच्च भौतिक मुल्यबाट विश्वलाई मानवीय मूल्य तर्फ डोर्याउने छ। अर्को तर्फ विश्व नै एक गाउको रुपमा रुपान्तरण भएको कुरा यो महामारीले झनै पुष्टी गरेको छ । तसर्थ अवको दिनमा जडवादी राष्ट्रियताको आडम्वरले काम गर्ने छैन । हामी जे गर्छौ विश्वका लागि अर्थात पृथ्वी, मानव र ब्रहमाण्ड कै लागि गर्नु पर्छ भन्ने कुरालाई उजागर गरेकोछ ।

यसले अल्पविकसित मुलुकहरुलाई आफ्नो आर्थिक हैसियत उठाउने मौका पनि प्रदान गर्नेछ । यी मुलुकले आफ्नो मुलुकमा रहेको मानविय संसाधनलाई सही परिचालन गरी प्राकृतिक श्रोत साधनको उच्चतम उपयोग गर्न सक्नेछन जुन मौका विकसित कहलिएका मुलुकसंग अति कम हुनेछ किनकि ती मुलुकहरुले यो अवस्था पार गरिसकेका छन । बजार र श्रोत दुबै कुरा अल्प विकसित मुलुकका भण्डारमा छन। यसले विश्वको आर्थिक तथा सामरिक शक्ति संतुलनमा समेत परिवर्तन ल्याउनेछ । स्वभाविकरुपमा अमेरिका अव न त आर्थिक रुपमा न त सामरिक रुपमा सर्वशक्तिमान रहनेछ। युरोपेली मुलुकहरुको हालत पनि खस्किनेछ । कोरोना प्रकोपले गर्दा चीनले यो संतुलनमा रुपान्तरण ल्याइसकेकोछ ।

यसै गरी एशिया र अफ्रिकी मुलुकहरुले आर्थिक उडान (Take Off) भर्ने मौका पाउने छन । यी देशहरुमा केही हदसम्म स्वाधिन अर्थव्यवस्था र स्वतंत्र बजार निर्माण गर्ने अवसर पाउने छन। अहिले विकसित भनिने मुलुकहरुको हस्तक्षेप न्युन हुनेछ किनकि यी मुलुक आफ्नै घरेलु मामिलामा बेस्त रहनेछन । यसबाट अर्थ राजनीतिमा नया नया मौलिक शैलीको विकास हुनेछ र उदारवादलाई प्रतिष्थापन गरिनेछ । चाहे जे होस यसले संरक्षित उदारवादमा भनिए जस्तै स्वास्थ्य, सुरक्षा र संरक्षणलाई समतामूलक ढंगले जोड दिनेछ जसबाट मानव अर्थशास्त्र (बजार अर्थशास्त्र हैन) को विकास हुनेछ ।

(लेखक डा. मान बहादुर बीके युवा तथा खेलकुद मंत्रालयका सहसचिव तथा २०१६/१७ का फुलब्राईट स्कलर तथा ‘Eradicating Hunger:Rebuilding Food Regime’ पुस्तकका लेखक हुन)

प्रतिक्रिया दिनुहोस