१० बैशाख, काठमाडौँ। अन्तरजातीय विवाह गर्दा पक्राउ परेका दलित युवकको प्रहरी हिरासतमै ज्यान गएको छ। प्रहरीले युवकले आत्महत्या गरेको दाबी गरेको छ भने पीडित परिवारले प्रहरीकै मिलेमतोमा युवकको हत्या गरिएको आरोप लगाएका छन् ।
सुनकोसी गाउँपालिका–३ का २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेकै बेला ज्यान गएको हो। तर उनले आत्महत्या गरेका हुन् वा प्रहरीको यातनाका कारण मृत्यु भएको हो भन्ने रहस्य बनेको छ।
प्रहरीले श्रीकृष्णले आत्महत्या गरेको देखेपछि उपचारका लागि अस्पताल लैजानेक्रममा मृत्यु भएको भनेको छ। तर परिवारले भने षड्यन्त्रपूर्वकरुपमा प्रहरीकै मिलेमतोमा श्रीकृष्णको हत्या गरिएको आरोप लगाएका छन्।
झुन्डिएको भनिएका श्रीकृष्णलाई डोरी काटेर छुटाएर उपचारका लागि लैजाने बेला परिवार र समाज कसैसँग पनि सोधपुछ र जानकारी नभएको परिवारको भनाइ छ ।
प्रहरीका अनुसार १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका श्रीकृष्णलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिनको म्याद लिइएको थियो ।
अनुसन्धानकै लागि इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा शौचालयमा झुण्डिएको अवस्थामा फेला पारी उपचारको क्रममा श्रीकृष्णको ज्यान गएको सिन्धुली प्रहरी प्रवक्ता सुर्यप्रकाश सुवेदीले जानकारी दिए।
श्रीकृष्णको मृत्यु शंकास्पद रहेको भन्दै सांसद खगेन्द्र सुनारले न्यायका लागि अपिल गरेका छन् भने राष्ट्रिय दलित आयोगले पनि घटनाका विषयमा निष्पक्षरुपमा छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
मृतकको शव जिल्ला अस्पताल सिन्धुलीमा राखिएको छ भने बुधबार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। सरोकारवाला र अधिकारकर्मीहरूले न्यायका लागि अपिल गरिरहेका छन् ।
सातदोबाटोबाट पक्राउ परेका थिए श्रीकृष्ण
खुर्कोट हिरासतमा ज्यान गुमाएका श्रीकृष्णलाई प्रहरीले ललितपुरको सातदोबाटोबाट हिरासतमा लिएको थियो। प्रहरीले हिरासतमा लिनुको कारण थियो- जबरजस्ती करणी। तर घटनाको वास्तविक तथ्य भने अलग छ। श्रीकृष्णले जबरजस्ती करणी होइन, आफ्नी प्रेमिकासँग राजी खुसी विवाह गरेका थिए।
सुनकोसीका श्रीकृष्ण साढे तीन वर्षदेखि ललितपुरको सानागाउँमा बस्थे। गाडी चलाएर गुजारा चलाउँदै आएका थिए। ललितपुरमा बस्दा, काम गर्दा खोटाङकी १७ वर्षीया निर्जला मगरसँग उनको चिनाजानी भयो। उनीहरू नजिकिए, परिवारका अनुसार उनीहरूबीच करिब २ वर्षदेखि प्रेम सम्बन्ध थियो।
प्रेम सम्बन्धमा रहेका उनीहरूले २८ चैतमा भागेर बिहे गरे। युवती श्रीकृष्णको सानागाउँस्थित कोठामा भित्रिइन्। प्रेमिका आफूसँगै आएपछि श्रीकृष्णले अब सानागाउँमा रहनुभन्दा गाउँ जानु उपयुक्त र सुरक्षित हुने ठानेँ। १ वैशाखमा नयाँ वर्ष मनाउँदै उनीहरू सिन्धुलीको सुनकोसी पुगे।
२ वैशाखमा उनीहरूलाई केटीका आफन्त र सातदोबाटो प्रहरीबाट फोन गयो- यहाँ आउनु, कुरा मिलाउँला। त्यसपछि उनीहरू ३ वैशाखमा सातदोबाटो प्रहरीमा हाजिर भए। सुरुवातमा प्रहरीसँग कुरा गर्दा युवतीले आफू केटासँग राजी खुसीले बिहे गर्न चाहेको र गएको बयान दिएकी थिइन्। तर केटी कम उमेरकी भएकै कारण प्रहरीले केटा-केटीलाई छुटाएर बलात्कारको मुद्दा चलाएको पाइएको छ।
श्रीकृष्णकी आमा विन्दामाया विकले प्रहरीकै मिलेमतोमा आफ्नो छोराको हत्या भएको आरोप लगाएकी छन्।
उनले भनेकी छन्- ‘केटीले केटालाई कुनै मुद्दा चलाउने हो भने आफू पनि चौकीमै बस्छु, जबरजस्ती गरेर छुटाए आफू आत्महत्या गर्ने भनी अडान लिएको हामी आफैँले सुनेका हौँ। त्यसरी केटालाई छाडिदिने भनेर केटीलाई छुटाएर प्रहरीले जबरजस्ती परिवारको जिम्मा लगायो। पछि हाम्रो छोरालाई जबरजस्ती करणी मुद्दा लगाएर थुनेको हो। विवाहको कुरा कसरी जबरजस्ती करणी भयो ?’
उनले प्रहरीले थुनुवा अवस्थामा रहेको बेला प्रहरीले मानसिक र शारीरिक यातना दिएको भनेर श्रीकृष्णले सुनाएको समेत बताइन्। जबरजस्ती करणी कसुरमा मुद्दा चलाएको प्रहरीले वैशाख ४ गते जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरी खुर्कोट प्रहरीको हिरासतमा राखेका थिए।
विन्दादेवी भन्छिन्- ‘मेरो छोरालाई ४ गते नै यहाँ ल्याएका रहेछन्। तर हामीलाई थाहै दिएनन्। वैशाख ७ को साँझ ४ बजे एक्कासी फोन आयो- तिम्रो छोरा प्रहरी कार्यालयको शौचालयमा आफ्नै सटको पासो लगाएर झुन्डिएको छ भनेर। तर हामी पुग्दा झुन्डिएको देख्न पाइएन।’
श्रीकृष्णका फूपुका छोरा कमल रपालका अनुसार परिवार खुर्कोट प्रहरी पुग्दा प्रहरीले उपचारका लागि भन्दै श्रीकृष्णलाई सुनकोसी सामुदायिक अस्पताल लगिएको भनेको थियो। त्यसपछि उनीहरू त्यहाँ गए। उनीहरू पुग्दा त्यहाँ प्रहरीले ‘यहाँ उपचार नभएपछि सिन्धुली जिल्ला अस्पताल रेफर गरिएको छ’ भन्यो।
त्यसपछि उनीहरू सिन्धुली जिल्ला अस्पताल पुग्दा शव मर्चरीमा राखिसकिएको थियो।
‘झुन्डिएर मरेको भए त्यसको दृश्य हामीले देख्न पाउनुपर्थ्यो। त्यो डोरीबाट निकाल्न जनप्रतिनिधि, समाज र परिवार हुनुपर्ने थियो। प्रहरीले आफूखुसी गरेको देखिन्छ,’ कमल भन्छन्, ‘यो एकदमै रहस्यमय घटना भएको छ। हामीले आत्महत्या भनेर स्वीकार गर्न सक्ने अवस्था छैन। शंकास्पद छ।’
उनका अनुसार श्रीकृष्णलाई भेट्न जाँदा प्रहरीले यातना दिएर आफूले जबरजस्ती करणी गरेको हुँ भनेर कबोल गर्न दबाब दिएको सुनाएका थिए।
प्रजिअ श्रेष्ठ भन्छिन्- घटना संवेदनशील छ, निष्पक्ष अनुसन्धान हुन्छ
सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले हिरासतमा एक व्यक्ति झुन्डिएको अवस्थामा फेला परेको घटनालाई अत्यन्त संवेदनशील भन्दै प्रशासन गम्भीरतापूर्वक अनुसन्धानमा जुटेको दाबी गरेकी छन् ।
सञ्चारकर्मी सँगको कुराकानीमा उनले घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा पीडित पक्षको प्रतिनिधित्वसमेत रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी गराइन्। उनका अनुसार समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ ।
उनले भनिन्, ‘समितिले अध्ययन–अनुसन्धान गरेर प्रतिवेदन बुझाएपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ ।’ घटनापछि पोस्टमार्टम गराउने विषयमा प्रशासनले दबाब दिएको भन्ने आरोपका खण्डन गर्दै उनले प्रमाण नष्ट हुन नदिन समयमै पोस्टमार्टम गर्न अनुरोध गरिएको स्पष्ट पारिन् ।
‘यो दबाब होइन, पीडित पक्षसँगको छलफलमै गरिएको अनुरोध हो,’ उनले भनिन् । प्रजिअ श्रेष्ठले घटनाको निष्पक्ष छानबिन गरी तथ्यका आधारमा कानुनी प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाइन्।
शव अस्पतालमा, सहायक सिडिओको संयोजकत्वमा छानबिन समिति गठन
घटनापछि श्रीकृष्णको शव जिल्ला अस्पतालमा राखिएको छ। परिवारले शव पोष्टमार्टम गर्न दिएको छैन। घटनाका विषयमा जिल्ला प्रशासन कार्यालयको संयोजनमा बुधबार दिनभर छलफलपछि ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलको संयोजकत्वमा गठित छानबिन प्रहरी, अधिकारकर्मी र पीडित परिवारका प्रतिनिधिसमेत संलग्न छन्।
सांसद सुनारले भने- प्रहरीले हिरासतमा कुटेर हत्या गरेको गुनासो आएको छ
सांसद खगेन्द्र सुनारले अन्तरजातीय बिहे गरेको आरोपमा पक्राउ परेका विकलाई प्रहरीले हिरासतमा कुटेर हत्या गरेको र घटना दबाउन दबाब दिएको भन्दै पीडित परिवारले गुनासो गरेको बताएका छन्।
‘लास सिन्धुली अस्पतालमा अलपत्र परेको भन्ने खबर प्राप्त भएको छ। घटनाबारे अध्ययन गर्न सरोकारवाला निकायसहित हामी आउँदैछौं । सत्य तथ्य पत्ता नलाग्ने बेलासम्म शव नउठाउनु होला,’ सांसद सुनारले फेसबुकमा लेखेका छन्।
उनले घटनामा पीडितलाई अनावश्यक दबाब नदिन प्रशासनलाई आग्रह गरेका छन् भने न्यायका लागि सबैले बोलिदिन आग्रह गरेका छन्।
निष्पक्ष छानबिन गर्न दलित आयोगद्वारा ध्यानाकर्षण
राष्ट्रिय दलित आयोगले श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएको भनिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बुधबार आयोगका प्रवक्ता एवम् सदस्य सुन्दर पुर्कुटीले विज्ञप्ति जारी गर्दै घटनालाई आयोगले गम्भीरपूर्वक लिएको बताएका छन्।
‘अनुसन्धान तथा छानबिनका क्रममा दलित समुदायमाथि हुने क्रूर शारीरिक तथा मानसिक यातनाका विगतका तथ्यहरूले यस घटनाप्रति थप चिन्ता व्यक्त गर्न बाध्य बनाएको छ,’ आयोगका प्रवक्ता पुर्कुटीले भनेका छन्।
आयोगले अघि भनेको छ- ‘प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु हुनु मानव अधिकारको दृष्टिले अत्यन्त संवेदनशील र चिन्ताजनक विषय हो। यस्तो घटनाले कानुनी शासन, मानव अधिकार संरक्षण तथा राज्यप्रति नागरिकको विश्वासमाथि गम्भीर प्रश्न खडा गर्दछ। उक्त घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं।’
आयोगले घटनामा संलग्न जो–कोही दोषी भए पनि कानुनबमोजिम कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न आग्रह गरेको छ।
यस्तो छ आयाेगकाे विज्ञप्ति
