१४ असोज, काठमाडौं । ३५ वर्षअघि २८ सय रहेको सार्वजनिक ऋणभार अहिले ९४ हजार पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सार्वजनिक ऋणभार अहिले २७ खर्ब नाघेपछि प्रति नेपालीको टाउकोमा अब ९४ हजार ६५ रुपैयाँ सार्वजनिक ऋणभार थपिएको हो ।
चालु आर्थिक वर्ष पहिलो दुई महिना भदौ मसान्तसम्म सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड पुगेको हो । यो २०७८ सालको नेपालको जनसंख्या अनुसार भदौ मसान्तसम्म सार्वजनिक ऋणको प्रतिव्यक्ति भार ९४ हजार ६५ रुपैयाँ हुन आउँछ ।
नेपालमा सार्वजनिक ऋणको भार निरन्तर बढ्दो छ । यस सन्दर्भमा विघटित प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रश्न गर्दै ‘ऋण तिर्न ऋण लिनुपर्ने अवस्थामा सरकार कसरी पुग्यो ?’ भन्नु भएको थियो ।
यो प्रश्नको साथमा सुवालले बहुदलीय व्यवस्था पुनःस्थापनाको सुरुमा सरकारको सार्वजनिक ऋण के कति थियो ? यो ऋण अहिले के कति पुग्यो ? आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने सरकारको योजना के–के छन ? भनेर समेत सोधनु भएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको लिखित जवाफअनुसार ३५ वर्ष पहिले २०४७ सालमा प्रति व्यक्ति सार्वजनिक ऋण २ हजार ८ सय ४२ सय थियो । अहिले ९४ हजार ६५ रुपैयाँ पुगेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जवाफमा उल्लेख भएअनुसार २०४७ साल असार मसान्तमा सरकारको तिर्न बाँकी आन्तरिक ऋण १४ अर्ब ६७ करोड ३१ लाख र तिर्न बाँकी वैदेशिक ऋण ३६ अर्ब ८० करोड ९ लाख गरी जम्मा सार्वजनिक ऋण ५१ अर्व ४७ करोड ४० लाख रहेको थियो ।
त्यस समयमा कुल ग्राहस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋण ४९.८ प्रतिशत रहेको थियो भने प्रति व्यक्ति कुल सार्वजनिक ऋण २ हजार ८ सय ४२ रुपैयाँ थियो ।
२०८१ चैत मसान्तमा सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड पुगेको छ । यसमध्ये आन्तरिक ऋण १३ खर्ब १ अर्ब ९४ करोड र बाह्यऋण १३ खर्ब ६५ अर्ब ३२ करोड रहेको छ ।
हाल कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋण ४३.९ प्रतिशत रहेको छ ।
यस ३५ वर्षको अवधिमा सार्वजनिक ऋणको प्रवृति हेर्दा प्रचलित मूल्यमा तिर्न बाँकी सार्वजनिक ऋणको परिणामा वृद्धि भएपनि कुल गार्हस्थ्य उत्पादनको अनुपातमा भने सार्वजनिक ऋण ६.८ प्रतिशत विन्दुले घटेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जवाफ छ ।