महिला कर्मचारीले लगाईन सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप

असोज १३, काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् । संसद सचिवालयमै कार्यरत ती महिलाले सभामुख महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।

उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र कोठामा आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ आफू दुव्र्यवहारको शिकार भएको दाबी गरेकी छन् ।

 

दुर्व्यवहारपछि आफूले प्रहरी बोलाएको र प्रहरी आउनुअघि नै सभामुख महरा बाहिरिएको उनले बताएकी छन । प्रहरीले आफ्नो कोठाको तत्कालीन अवस्थाको फोटो र भिडियोसमेत खिचेर लगेको ती कर्मचारीको भनाइ छ ।

यता सभामुख कृष्णबहादुर महराले भने, कर्मचारी समायोजनमा संसद सचिवालयबाट सरुवा भई बाहिर पठाइएकी ती महिला कर्मचारीले आरोप सत्य नभएको बताएका छन् ।

कर्मचारी समायोजनमा अन्यत्र सरुवा भएको र ती कर्मचारीले यहींकतै मिलाइदिनुपर्यो भनिरहेकोमा आफूले सामान्य प्रशासनले समायोजन गरेको बताउँदा यो आरोप लगाइएको सभामुख महराले बताए ।

संसद सचिवालयमा कार्यरत ती कर्मचारीले सभामुखले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएको विषयमा सभामुख महराले भने, ‘यो शतप्रतिशत नियोजित र निराधार कुरा हो ।’

‘कर्मचारीको समायोजन सामान्य प्रशासनले गर्छ भन्दा उहाँले जसरी पनि यतै मिलाइदिन भन्नुभएको थियो । मैले समायोजनको काम सामान्य प्रशासनले गर्छ भनेपछि त्यसको रिस ममाथि पोख्नुभएको होला’, सभामुख महराले भने ।

सभामुख महराको सचिवालयले भने सबै झुटो रहेको दाबी गरेको छ । महराको औपचारिक प्रतिक्रिया केहीबेरमा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस