आचारसंहिता विपरित शिक्षक कर्मचारीलाई चुनाव प्रचारमा जान महेन्द्रको उर्दी, चौतर्फि विरोध

१६ माघ, कालिकोट । नेपाली कम्युनिष्ट पार्टी कालिकोटका प्रतिनिधि सभाका उम्मेदवार महेन्द्र बहादुर शाहीले निर्वाचन आचारसंहिता विपरित आफ्नो चुनाव प्रचार प्रचारको लागि शिक्षक कर्मचारीहरुलाई सहभागी हुन आन्तरिक उर्दी जारी गरेका छन ।

शिक्षक कर्मचारीहरुमध्य कसैलाई विभिन्न प्रलोभन देखाएर त कसैलाई डर त्रास देखाएर चुनावी प्रचारमा लाग्न आन्तरिक उर्दी जारी गरिएको खुल्न आएको हो । उम्मेदवार शाहीसंगै रास्कोट नगरसरकारका नगरप्रमुख धर्मराज शाहीले पनि निर्वाचन आचारसंहिता विपरित शिक्षक कर्मचारीहरुलाई चुनाव प्रचार प्रसार कार्यमा खटिन र चुनावी खर्च पैसा दिनुपर्ने समेत उर्दी जारी गरेको एक कर्मचारीले गुनासो गरेका छन ।

नगरप्रमुख शाहीले चुनाव प्रचार प्रसार कार्यमा नलागे शिक्षक कर्मचारीहरुलाई सरुवा गर्ने देखि अस्थायी तथा राहतवालाहरुलाई हटाईदिनेसम्मको धम्की दिएपछि चुनाव प्रचार प्रसार कार्यमा लाग्न बाध्य भएको शिक्षक कर्मचारीहरुले गुनासो गरेका छन ।

केही शिक्षक कर्मचारीहरु झोले कार्यकर्ता जस्तै भएर नै चुनाव प्रचारमा खुलेर लागेका छन । तर त्योसंगै केही शिक्षक कर्मचारीहरुलाई प्रलोभन र डरत्रास देखाएर प्रचारमा लगाईएको छ ।

बिहीबार रास्कोटमा भएको चुनावी प्रचार र्यालीमा कालशिल्ला माविका प्रअ देवराज चौंलागाई झोले कार्यकर्ताकै रुपमा प्रस्तुत भए । उनी महेन्द्र र धर्मराजशाहीको निर्देशनलाई पालना गर्दै कालशिल्ला माविको पठनपाठन समेत ठप्प पारेर र्यालीमा सहभागी भए । प्रअ चौलागाईले आफूमात्र नभई विद्यालयका अरु शिक्षकहरुलाई समेत जवर्जस्ती र्यालीमा सहभागी गराएका छन ।

नेपाली कम्युनिष्ट पार्टीका नेता र उम्मेदवार शाहीको निर्देशन र उर्दीमा चुनावी प्रचारमा गएको प्रचारमा सहभागी केही शिक्षक तथा कर्मचारीहरुले ज्वाला खवरलाई नाम नभन्ने शर्तमा बताएका छन । उनीहरुले आफ्नो रहर नभई बाध्यता भएको पनि गुनासो गरेका छन ।

शाहीको चुनावी प्रचारमा जानेहरुमा कालशिल्ला माविका सहायक प्रअ आनन्द बहादुर शाही, शिक्षकहरू गोरख बहादुर शाही, मिमराज फडेरा ,रंगरूप फर्साल र मंगलादेवी आधारभूत विद्यालय बाँखरकोटका शिक्षक लक्ष्मी योगी रहेका छन ।

रास्कोट नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमराज शाही पनि आचारसंहिता विपरित विपक्षी उम्मेदवारलाई खुल्याउने र महेन्द्रको चुनावी प्रचार गर्ने गरेको खुल्न आएको छ । नगरपालिकाको कर्मचारी हुने तर विपक्षी उम्मेदवारलाई खुल्याउने र महेन्द्रको चुनावी प्रचार गर्ने गरेको भन्दै उनीमाथि पनि प्रश्न उठेको छ ।

शिक्षक कर्मचारीहरु चुनावी प्रचारमा जानेदेखि फेसबुक पेजमा समेत स्टाटस लेखेर आचारसंहिता विपरित चुनावी प्रचार गरिरहेका छन ।

शिक्षा शाखा प्रमुख शाही, जनजाग्रीती माविका कम्प्युटर शिक्षक रमेश शाही, कालशिला माविका सहायक प्रअ शिक्षक आनन्द शाही, शिक्षक दिपेन्द्र शाही, नगरपालिकाका सूचना प्रविधि अधिकृत दिलसान महतारा, रास्कोट अस्पतालमा कार्यरत जनस्वास्थ्य अधिकृत देवेन्द्र शाही, कालशिला माविका खेलकुद प्रशिक्षक प्रदिप शाही, मोतिराम मावि संघीय अनुदान शिक्षक धर्मराज शाही, रास्कोट अस्पतालको कार्यालय सहयोगी हरि फर्साल, जनजाग्रीती माविका कार्यालय सहयोगी कुलराज धमाला लगायतले आचारसंहिता विपरित फेसबुक पेजमा लेख्नेदेखि चुनावी प्रचारमा लागेको अभिभावकहरुको गुनासो छ ।

यिनीहरूले निर्वाचन आचार संहिता विपरितको कार्य भएको भन्दै अभिभावकहरुले विद्यालय बन्द गरेर चुनाव प्रचार प्रसार कार्यमा नजान चेतावनी दिएका छन ।

अभिभावकहरुले यदि झोले कार्यकर्ता नै हुने भएर सरकारी तलव भत्ता खाने पदबाट राजीनाम दिएर मात्र लाग्न आग्रह गरेका छन । शिक्षक कर्मचारीहरुको चुनावी प्रचारमा सहभागी भएको कुरामा सामाजिक संजालदेखि विभिन्न क्षेत्रबाट चर्को आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस