माघ १७, काठमाण्डौ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । बिहीबार जेनेभामा बसेको डब्ल्यूएचओको आपतकालीन बैठकले प्राणघातक कोरोना भाइरसको प्रकोपलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ का रुपमा घोषणा गरेको हो ।
गत हप्ता डब्ल्यूएचओले चीनबाहिर फैलिएको संक्रमण तुलनात्मक रुपमा कम भए पनि कुनै बेला यसले भयावह रुप लिन सक्ने बताएको थियो । ‘स्वास्थ्य संकटकाल’ लाई डब्ल्यूएचओले ‘असाधारण घटना’ का रुपमा लिने गर्छ, जसमा अन्तर्राष्ट्रिय स्तरको समन्वयको खाँचो हुन्छ । यसअघि इबोला, जिका र एच १ एन १ भाइरस संक्रमणका बेला पनि डब्ल्यूएचओले ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो ।
मृतकको संख्या २ सय नाघ्यो
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट २१३ जनाको मृत्यु भएको जनाएको छ । हुबेई प्रान्तका अधिकारीका अनुसार बिहीबार मात्रै थप ४२ जनाको मृत्यु भएको हो । त्यस्तै झन्डै १० हजार व्यक्तिमा यसको संक्रमण देखिएको छ । शुक्रबार बिहानसम्म ९६९२ जनामा यसको संक्रमण भेटिएको चीनले जानकारी दिएको छ । बिहीबार मात्रै थप १९८२ जना संक्रमित भेटिएका हुन ।
पुरै चीनमा फैलियो कोरोना भाइरस
नोवल कोरोना भाइरसको संक्रमण चीनका सबै क्षेत्रमा फैलिएको छ । बिहीबार तिब्बतका एक व्यक्तिमा भाइरसको संक्रमण देखिएसँगै यो चीनका सबै क्षेत्रमा पुगेको हो । चिनियाँ सञ्चारमाध्यमका अुनसार वुहानबाट तिब्बत पुगेका ३४ वर्षीय एक पुरुषमा बिहीबार भाइरसको संक्रमण भेटिएको हो । जनवरी २५ मा रेलबाट त्यहाँ पुगेका उनलाई त्यसै दिन अस्पताल भर्ना गरिएको अधिकारीले बताएका छन । संक्रमितको स्वास्थ्य स्थिर रहेको र सूक्ष्म निगरानीमा राखिएको राज्य सञ्चालित ‘चाइना डेली’ ले उल्लेख गरेको छ ।
कोरोना भाइरस मानिसमा प्रवेश गरेको १० दिनभित्र देखिन्छ लक्षण
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १५ देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का एक विज्ञले भाइरसको संक्रमण कम्तीमा अझै १० दिन फैलन सक्ने बताएका छन । चिनियाँ स्वास्थ्य अधिकारीले सार्स र इन्फ्लुएन्जा भाइरसजस्तै कोरोना बढी उमेर समूह र पहिले नै श्वासप्रश्वाससम्बन्धी रोगको समस्या भएका मानिसका लागि निकै जोखिमयुक्त रहेको बताएका छन । चीनबाहिर २० देशमा कोरोना भाइरसको संक्रमण फैलिए पनि अहिलेसम्म कसैको मृत्यु भएको छैन ।
वुहानबाट बाहिर निकाल्न आग्रह
वुहानमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीले त्यहाँबाट निकाल्न आग्रह गरेका छन । उनीहरूले सामाजिक सञ्जाल, फोन र पत्रमार्फत आफ्ना सरकारलाई जतिसक्दो चाँडो निकाल्न आग्रह गरेका हुन । भाइरस संक्रमण फैलन थालेपछि वुहानमा अत्यावश्यक बाहेकका अन्य क्षेत्र बन्द छन । यसरी आग्रह गर्नेमा धेरैजसो दक्षिण एसियाली राष्ट्रका विद्यार्थी छन । पाकिस्तानले वुहानमा ५ सय विद्यार्थी र उनीहरूका परिवार रहेको जनाएको छ । उसले भाइरसनिगरानीमा आवश्यक पर्ने सतर्कताका कारण उनीहरूलाई स्वेदश फर्काउन अप्ठेरो भइरहेको बताएको छ । बंगलादेश र भारतले भने विमानलाई तयारी अवस्थामा राखेको जनाएका छन ।
नागरिक फिर्ता सुरू
केही दिनअघि चिनियाँ विदेश मन्त्रालयले गरेको आग्रहविपरीत कैयौं राष्ट्रले आफ्ना नागरिक फिर्ता लगेका छन । केहीले फिर्ता लाने तयारी गरिरहेका छन । अमेरिकाले बुधबार २ सय अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई वुहानबाट फिर्ता लगेको छ । उसले थप मानिस फिर्ता लाने तयारी गरिरहेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार वुहानमा बाँकी रहेका अमेरिकी नागरिकलाई फेब्रुअरी ३ भित्र फिर्ता लगिनेछ ।
चीनले २ दिनमै बनायो ’कोरोना भाइरस अस्पताल’
दक्षिण कोरिया र बेलायतले आफ्ना नागरिक फिर्ता लाने तयारी गरे पनि चीनबाट अनुमति प्राप्त नगरेका कारण केही ढिला भएको छ । बीबीसीका अनुसार जापानले विशेष विमानमार्फत बुधबार आफ्ना नागरिकलाई राजधानी टोकियो ओरालेको छ । अधिकारीका अनुसार थप ६ सय ५० जना जापान फर्कन चाहेकाले उनीहरूलाई ल्याउने तयारी भइरहेको छ । मलेसियाले पनि वुहानस्थित आफ्ना नागरिकलाई फर्काउने तयारी गरिरहेको जनाएको छ ।
अमेरिकामा ‘टास्क फोर्स’
वुहानबाट अमेरिकी नागरिक फर्काउने प्रक्रिया सुरु भएसँगै ट्रम्प प्रशासनले कोरोना भाइरस ‘टास्क फोर्स’ गठन गरेको छ । तीव्र गतिमा फैलिरहेको भाइरसबाट अमेरिकालाई जोगाउन र निरीक्षण गर्न विशेष फोर्सको सुरुवात गरिएको हो । बुधबार राति घोषणा गरिएको ‘टास्क फोर्स’ मा १२ जना सदस्य रहने छन । समूहको नेतृत्व अमेरिकी स्वास्थ्य सेवामन्त्री एलेक्स अजरलाई दिइएको छ । अमेरिकी नागरिकलाई भाइरसबारे पछिल्लो स्वास्थ्य र यात्राको जानकारी दिने जिम्मेवारी उक्त फोर्सलाई तोकिएको छ ।
कडा निगरानीमा राखिने
बेलायत, अस्ट्रेलिया, दक्षिण कोरिया, सिंगापुर र न्युजिल्यान्डले वुहानबाट फिर्ता जाने सबैलाई कम्तीमा दुई साता प्रत्यक्ष निगरानीमा राख्ने जनाएको छ । देशमा थप संक्रमण फैलन नदिन उनीहरूलाई प्रत्यक्ष निगरानीमा राख्न लागिएको ती देशका अधिकारीले बताएका छन । अस्ट्रेलियाले वुहानबाट फर्काइएका आफ्ना नागरिकलाई मुख्य भूमिबाट करिब २ हजार किलोमिटर पर रहेको क्रिसमस टापुस्थित एउटा केन्द्रमा राखेर निरीक्षण गर्ने भएको छ । सिंगापुरले मुख्य भूमिबाट उत्तर–पूर्वमा पर्ने पुलाउ उबिनमा निगरानी सुविधा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
भारत र यूएईमा पनि संक्रमण पुष्टि
भारतले वुहानमा अध्ययनरत दक्षिणी राज्य केरलाका एक विद्यार्थीमा भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । खाडी राष्ट्र संयुक्त अरब इमरेट्स (यूएई) मा पनि नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ । स्वास्थ्य अधिकारीका अनुसार चीनको वुहानबाट फर्किएका व्यक्तिमा भाइरसको संक्रमण रहेको पुष्टि भएको हो । फिलिपिनसमा पनि दुई जनामा संक्रमण देखिएको छ ।
‘दुष्ट भाइरसलाई पराजित गर्छौं’
चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन दुष्ट भाइरस (नोवेल कोरोना) सँग लडिरहेको जनाउँदै आफ्नो देशले जित्नेमा विश्वस्त रहेको बताउनु भएको छ । चीन भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुख डा. टेड्रोस एड्हानम घेब्रेयसुससँगको भेटवार्ताका क्रममा राष्ट्रपति सीले कोरोना भाइरसको संक्रमण थप फैलन नदिन आफ्नो निर्देशनमा काम भइरहेको जनाउनु भयो । ‘यो महामारी फैल्याउने दुष्ट भाइरसलाई हामीले लुक्न दिने छैनौं,’ राष्ट्रपति सीलाई उद्धृत गर्दै घेब्रेयसुसले बताउनु भयो ।
विमान सेवा बन्द
बेलायती राष्ट्रिय ध्वजाबाहक ‘ब्रिटिस एयरवेज’ ले चीनमा गर्दै आएका सबै उडान तत्कालका लागि स्थगित गरेको जनाएको छ । युनाइटेड एयरलाइन्स, क्याथे प्यासिफिक र लायन एयरले पनि उडान स्थगित गरेका छन ।
कहाँ कति संक्रमित?
चीन २१३ मृत्यु, ९६९२ संक्रमित
थाइल्यान्ड १४ जना संक्रमित
हङकङ १२ जना संक्रमित
जापान ११ जना संक्रमित
सिंगापुर १० जना संक्रमित
अस्ट्रेलिया, ताइवान ९ र ९ जना संक्रमित
मलेसिया, मकाओ ७ र ७ जना संक्रमित
अमेरिका, फ्रान्स, दक्षिण कोरिया ६ र ६ जना संक्रमित
जर्मनी, यूएई ४ र ४ जना संक्रमित
भियतनाम, क्यानडा इटाली २ र २ जना संक्रमित
नेपाल, कम्बोडिया, श्रीलंका, फिनल्यान्ड, फिलिपिन्स, भारत १ र १ जना संक्रमित