१२ जेष्ठ, सुर्खेत । सामाजिक संजाल फेसबुक मार्फत दलित समुदायमाथि होच्याउने र अपमान हुने शव्दहरु लेखेर जातीय विभेद गर्ने पत्रकार शेरबहादुर थापा पक्राउ परेका छन ।
पत्रकार थापालाई सोमबार जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका १० बाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी मोहनजंग बुढथापाले जनाउनु भएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहेका शेर बहादुर थापाले बलवहादुर थापाको ‘पिठ्यूपछि कुरा काट्ने काटदै गर, तर आफै गाउँमा बसेर समाजको काम गर, मन्दीरको भगवान होईन तिमीहरुलाई पुज्छु’ भनेर लेखेको स्टाट्समा ‘डुमलाई नपाल्नु’ भनेर कमेन्ट लेखेका छन ।
यस्तो छ कमेन्ट

उनको यो कमेन्टको चौतर्फि विरोध भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सामाजिक संजाल फेसबुकबाट सम्पूर्ण दलित समुदायमाथि होच्याउने, अपमान हुने शव्द (डुम) को प्रयोग गरिएको भन्दै थापाविरुद्ध राष्ट्रिय दलित पत्रकार संघ कर्णाली प्रदेश समितिले वैशाख ११ गते उजुरी दर्ता गरेको थियो।
जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी मुद्दा परेपनि पत्रकार थापा भने फरार रहदै आएका थिए । उनी प्रहरीको खोजी सूचीमा रहेको बेला सोमवार पक्राउ परेका हुन ।
पक्राउ परेका पत्रकार थापालाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखी आवश्यक अनुसन्धान गरिहेको सुर्खेत प्रहरीले जनाएको छ ।
पक्राउ परेको विज्ञप्ति

पत्रकार थापाको स्थायी घर दैलेखको आठबीस नगरपालिका वडा नम्वर ६ हो । उनी सुर्खेतमा बसेर पत्रकारिताको कभरमा अराजकता मच्चाउने गरेको दलित अधिकारकर्मीहरुले बताउने गरेका छन ।
पहिलो प्रेस डटकमका प्रधान सम्पादक समेत रहेका ३९ वर्षीय थापा कहिले महिलामाथि अपशब्द बोलेको आरोप त कहिले दलित समुदायमाथि अपशव्द बोलेको आरोपमा विवादमा तानिदै आएका छन ।