प्रगतिशील लेखक सङ्घद्धारा स्वाधीनतामाथिको हस्तक्षेप बन्द गर्न माग

२१ चैत्र, कञ्चनपुर । प्रगतिशील लेखक सङ्घ नेपालले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको पक्षमा खरो रुपमा उभिने दृढता व्यक्त गरेको छ । उसले स्वाधीनतामाथि भईरहेको विदेशी हस्तक्षेपको कडा विरोध गर्दै तुरुन्त बन्द गर्न पनि माग गरेको छ ।
प्रगतिशील लेखक सङ्घ नेपालले कञ्चनपुरमा शुक्रवार र शनिवार सम्पन्न गरेको दुईदिने अन्तर्राष्ट्रिय सङ्गोष्ठीबाट ८ बुँदे ‘दोदारा चाँदनी घोषणापत्र’ सार्वजनिक गर्दै स्वाधीनताप्रति दृढता व्यक्त गरेको हो ।
प्रगतिशील लेखक संघले विदेशीहरुले नेपाली राजनीतिमा आफ्नो प्रभावलाई बढाउदै गईरहेको औल्याउदै चीनविरोधी गतिविधि गर्न एसपीपि पारित गर्न अनुकूल वातावरण बनाउन खोजिएको आरोप लगाएको छ ।
लेखक संघले वर्तमान सरकार फाशिष्ट तथा स्वेच्छाचारी प्रकारले राजनीतिक नेताहरूलाई दमन तथा गिरफ्तारी गरिरहेको भन्दै सरकारको कडा भत्र्सना गरेको छ ।
घोषणापत्रको ४ नम्वर बुँदामा भनेको छ ‘देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको पक्षमा उभिदै वर्तमान सरकारको यसप्रकारको फासिष्ट शैलीको कडा रूपमा भत्र्सना गर्दछ ।’
लेखक संघले स्वतन्त्र विद्यार्थी यूनियन तथा ट्रेड यूनियनको खारेज गर्ने निर्णय र स्वतन्त्र मिडियाहरू माथि अंकुश लगाउने कार्यको पनि विरोध गरेको छ ।
उसले भारत र चिनले हालै नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रबाट द्विपक्षीय व्यापार सम्झौता कार्यान्वयन गर्ने गरेको निर्णयमा खारेजीको पहल गर्न माग गरेको छ ।
‘अन्तराष्ट्रिय कानुनको उल्लङ्घन गर्दै छिमकी राष्ट्रविचको सम्बन्धमा गहिरो आघात पुगेको छ । प्रलेस नेपाल, उक्त सम्झौता तुरुन्त खारेज गरी अन्तर्राष्ट्रिय नियम तथा कानुनका आधारम त्रिपक्षीय सम्बन्ध सुमधुर बनाउन जोडदार माग गर्दछ’ घोषणा पत्रमा उल्लेख गरिएको छ ।
प्रगतिशील लेखक संघले घोषणापत्र मार्फत अमेरिकी साम्राज्यवादद्धारा भेनेजुयला र इरानमाथि गरिएको आक्रमण र हिंसाको कडा विरोध गरेको छ ।
लेखक संघले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई तुरुन्त रिहा गर्न तथा विश्वभरि चलाउदै गैरहेको युद्धउन्माद बन्द गर्न अमेरिकासंग जोडदार माग गरेको छ ।
लेखक सङ्घले नेपाली सीमानाको रक्षा तथा राष्ट्रिय स्वाधिनताको रक्षाका लागि आफ्नो जीवन बलिदान गर्नुहुने भीमदत्त पन्तदेखि पूर्नवास, कञ्चनपुर निवासी गोविन्द गौतमसम्मका ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धासुमन समेत प्रकट गरेको छ ।
उसले अन्तराष्ट्रिय सङ्गोष्ठीमा प्रस्तुत साहित्य र विचारका भावनाहरूलाई समेट्दै सुदूर पश्चिम प्रदेशका विभिन्न भाषा, संस्कृति, कला तथा साहित्यलाई विश्व प्रगतिशील साहित्यमा प्रचार प्रसार गर्न दोधारा चांदनी विशेषाङ्क प्रकाशित गर्ने पनि प्रतिवद्धता जाहेर गरेको छ ।
संघले आफ्नो घोषणापत्रमा प्रगतिशील लेखन तथा साहित्यको संरचना परम्परागत ढंङगमा मात्र सीमित राख्नु उचित नदेखिने भन्दै युवा पुस्ताका भावनालाई समेट्दै साहित्यलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याएको छ ।

घोषणापत्रको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस