भोलिदेखि रास्कोटमा इलाका प्रशासन कार्यालयबाट हुने सेवा सुरु हुदै

६ बैशाख, कालिकोट । रास्कोट नगरपालिकामा भोलि (बैशाख ७) गते देखि इलाका प्रशासन कार्यालयबाट हुने सेवाहरु सुरु हुने भएको छ ।

इलाका प्रशासन कार्यालयबाट नेपाली नागरिकता र राष्ट्रिय परिचयपत्र प्राप्तिका कामहरु हुने जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले एक सूचना प्रकाशित गर्दै प्रशासन कार्यालयबाट विगतदेखि उपलब्ध गराउदै आएका नागरिकता र राष्ट्रिय परिचयपत्रको आवेदन संकलन तथा कार्ड वितरण लगायतका सेवाहरुलाई छिटो, छरितो, सहज र पहुँचयोग्य बनाउन सहयोग पुग्ने उल्लेख गरिएको छ ।

प्रशासन कार्यालयले ‘नेपाल सरकार मन्त्रिपरिषद्बाट ईलाका प्रशासन कार्यालय, रास्कोटको स्थापना गरी सेवा दिने मिति २०८२÷०९÷११ मा भएको निर्णयानुसार मिति २०८३ साल वैशाख ७ गतेदेखि उक्त सेवाहरू नियमित रुपमा ईलाका प्रशासन कार्यालय, रास्कोटबाट उपलब्ध हुने जानकारी गराइन्छ’ सूचनामा भनेको छ ।

इलाका प्रशासन कार्यालयको सेवा सुचारुले रास्कोट नगरपालिका, पलाता गाउँपालिका, पचालझरना गाउँपालिका, र सान्नीत्रिवेणी गाउँपालिकाका सेवाग्राहीहरुलाई नागरिकता र राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरू लिन सहज हुनेछ । यसअघि सेवाग्राहीहरु यहि कामका लागि हप्तै दिन लगाएर सदरमुकाम मान्म आउनु पर्ने बाध्यता थियो ।

जिल्ला प्रशासन कार्यालयले पनि सेवाग्राहीहरुलाई लामो भौगोलिक दुरी यात्रा गरी सेवा लिन जिल्ला सदरमुकामसम्म आउनुपर्ने झन्झट कम भई समयमा सहजै सेवा प्राप्त हुने अपेक्षा गरेको छ । इलाका प्रशासन कार्यालय स्थापनाका लागि रास्कोटका सबै राजनीतिक दल, स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय लगायतको विशेष पहलकदमी रहेको थियो ।

प्रशासन कार्यालयको सूचना ।

प्रतिक्रिया दिनुहोस