सुनसरीमा सशस्त्रले गोली चलाउँदा सिटी सफारी चालकको मृत्यु

१७ पुस, विराटनगर । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

कोशी गाउँपालिका-१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।

घटना बुधबार राति करिब १ः१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको हो । मृतक साह सोही वडाका स्थायी बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले जानकारी दिनुभयाे।

साहको मृत्युपछि स्थानीयले शव उठाउन दिएका छैनन् । घटनास्थलमा प्रदर्शन गरिरहेका छन् ।

साहले आफ्नै सिटी सफारीमा ८(१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै थिए । सिटी चलाइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो ।

मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच केही समय विवाद भएको थियो । स्थानीयले भने लेनदेनको विवादमा गोली हानेको दाबी गर्दै विरोध गरेका छन् ।

घटनास्थलमा प्रहरीले कानुनी प्रक्रिया पूरा गरी मुचुल्का उठाउने काम गरिरहेको छ । सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले भन्नुभयाे तस्करको समूहकसँग दोहोर गोली हानाहान भएको र त्यसक्रममा एक जनाको मृत्यु भएको दाबी गर्नुभयाे ।

‘चोरीको सामान रहेको सवारी रोक्न खोज्दा गोली प्रहार भयो’, उहाँले भन्नुभयाे, ‘एपीएफले जवाफी फायरिङ गरेको हो ।’

प्रतिक्रिया दिनुहोस