बालुवाटार भित्रै मागियो प्रधानमन्त्रीको राजीनामा, प्रचण्डभन्दा पूर्वएमाले कडा


१७ असार  भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताहरु पनि लागेको अभिव्यक्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीमा संकटमा पर्नु भएको छ ् ।
मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा शीर्षनेताहरुले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न मात्र उठाएनन्, ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन मागसमेत गरेका छन ।
प्रधानमन्त्री ओलीले आइतबार मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा नयाँ नक्सा छापेका कारण भारतले आफूलाई हटाउन खोजेको दाबी गर्नु भएको थियो । त्यसमा नेपालकै नेताहरु लागेको भए पनि त्यो सफल नहुने उहाले बताउनु भएको थियो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक ओलीको यही अभिव्यक्तिमा केन्द्रित भयो । सुरुमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नियमित एजेण्डाअनुसार सीमा विवाद र नयाँ नक्साबारे छलफल गर्नुपर्ने भए पनि परिस्थिति बदलिएको बताउनु भयो ।
मदन भण्डारी जयन्तीको दिन अर्का अध्यक्ष ओलीले दिएको अभिव्यक्तिले अवस्था गम्भीर बनाएको उहाले बताउनु भयो । ओलीको अभिव्यक्तिले नेपालले अझै आत्मनिर्णयको अधिकार प्रयोग गर्न पाएको छैन भन्ने सन्देश दिएको मात्र होइन, पार्टीकै नेताहरुमाथि अविश्वास देखिएको प्रचण्डले बताउनु भयो । साथै विदेश सम्बन्धमा पनि प्रतिकुल असर पर्ने भन्दै यसबारे छलफल गर्नुपर्ने भएको उनले बताउनु भयो ।
प्रचण्डले निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको विषय पनि उठाउनु भयो । कतिपयले केपी ओलीले पार्टी फुटाउँछन् भन्दै आएको र झापाकै मान्छेले दल दर्ताका लागि निवेदन दिएको उल्लेख गर्दै उहाले कसले किन नेकपा एमाले दर्ता गर्न खोज्यो भनेर खोजविन गर्नुपर्ने बताएको एक स्थायी कमिटी सदस्यले बताउनु भएको छ ।
त्यसको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भारतको विरोध गर्दा पार्टीका नेताहरुको चित्त किन दुख्यो ? भन्दै प्रतिप्रश्न गर्नु भएको थियो । तर, भारतले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको र त्यसमा नेपाली नेताहरुको सहभागिताबारे थप खुलाउनु भएन । प्रधानमन्त्रीले आइतबार आफूले भारतीय मिडियाहरुका बारेमा मात्र चर्चा गर्न खोजेको भन्दै आफ्नो भाषणको बचाऊ गर्नु भयो ।

निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताको निवेदनबारे भने आफूलाई थाहा नभएको प्रधानमन्त्रीले बैठकमा बताउनु भयो । उहाले बैठकमा भन्नु भएको थियो , ‘दल दर्ता कसले किन गर्न खोनेको हो, मलाई थाहा छैन । मचाहिँ नेकपाकै मान्छे हुँ, यो पार्टीको अध्यक्ष हुँ ।’
‘ओलीबाट सरकार र पार्टी दुबै चलेन’
प्रचण्ड र ओलीको सवाल जवाफपछि स्थायी कमिटीमा वरिष्ठ नेता झलनाथ खनाल बोल्नु भएको थियो । झलनाथ खनालले स्पष्ट रुपमा प्रधानमन्त्रीको राजीनामा माग्नु भएको थियो । बैठकमा बोल्ने पूर्वएमालेका नेताहरु प्रचण्डभन्दा कडा रुपमा प्रस्तुत भएका थिए ।
प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका नेता खनालले ‘हामीलाई भारतको एजेन्ट भन्न खोजेको हो ? भन्ने प्रश्न गर्नु भयो ।
ओलीले सरकार एकलौटी चलाएको र पार्टी बैठकहरुको पनि उपेक्षा गरेको भन्दै खनालले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीको राजीनामा माग्नु भयो । ‘पार्टीले हटाउँछु भन्यो भने केपी कमरेडले त्यसलाई मान्नुपर्छ । तनाशाहले जस्तो बलजफ्ती गर्न पाइँदैन’ उहाले बैठकमा भन्नु भयो ‘लिखित प्रस्ताव ल्याउँ, छलफल गरौं ।’
अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पनि अध्यक्ष ओलीप्रति आक्रामकरुपमा प्रस्तुत हुनु भएको थियो । उहाले ओलीमा दम्भ, अहंकार र अरुलाई दास बनाउने प्रवृत्ति रहेको र त्यसले नै समस्या भएको बताउनु भयो ।
मंगलबारको बैठकमा नेता नेपालले भन्नु भयो , ‘ओलीलाई विधि होइन, दास चाहिएको छ । पार्टी होइन, गुट चाहिएको छ ।’ यही कारण पार्टी नियोजितरुपमा विर्सजन गर्न खोजिएको त होइन भन्ने शंका लाग्न थालेको उहाले बताउनु भयो ।
उपाध्यक्ष बामदेव गौतमले पनि प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामा माग्नु भयो । ओलीले आफ्नो कमजोरी कहिल्यै आत्मसाथ गर्न नसकेको र अहिले पनि त्यो नदेखिएको उहाले बताउनु भयो । गौतमले बैठकमा भन्नु भयो , ‘तपाई पार्टीको सबै ठाउँमा अल्पमतमा पर्नुभएको छ । अल्पमतमा परेपछि स्वतः राजीनामा दिनुपर्ने हो, राजीनामा दिनुस् ।’

प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भारतले आफ्नो सरकार ढाल्न खोजेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाउनु भयो । आन्तरिक राजनीति र व्यक्तिगत स्वार्थका लागि कूटनीतिक र परराष्ट्र सम्बन्धमाथि खेलबाड भएको भन्दै उहाले आपत्ति जनाउनु भयो । श्रेष्ठले बैठकमा भन्नु भयो ‘उहाँलाई त्यस्तो लागेको भए पार्टीमा छलफल गर्नुपथ्र्यो । प्रमाण खोजेर राजदूतलाई बोलाएर सोध्नुपथ्र्यो र देश निकाला गर्नुपर्थ्यो ।’

तर, नेपालको नयाँ नक्सा छापेका कारण हटाउन खोजेको भन्ने प्रधानमन्त्रीको दाबी गलत भएको उहाले बताउनु भयो । भारतले नेपाली भूमिसमेत समावेश गरेर नोभेम्बर २०१९ मा नयाँ नक्सा जारी गरेपछि नेकपा केन्द्रीय समितिले लिम्पियाधुरासहितका भूभाग समावेश गरेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको उहाले स्मरण गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस