१५ भाद्र,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपाल कुनै पनि सैन्य मोर्चामा जान नसक्ने ठोकुवा गर्नु भएको छ । उहाँले समाजवादी मोर्चाले बिहीबार कर्णालीको सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै यस्तो ठोकुवा गर्नु भएको हो ।
महासचिव विप्लव सीले साम्राज्यवादी हस्तक्षेप, नियन्त्रण र उपनिवेशवाद स्वीकार गर्न नसकिने बताउदै एमसीसीको नाममा अमेरिकाले सैन्य मोर्चा खडा गर्न चाहेकोले नेपाल कुनै पनि सैन्य मोर्चामा जान नसक्ने बताउनु भयो ।
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन जनताको हितमा नरहेको बताउदै यसको विरुद्धमा प्रधानमन्त्री प्रचण्ड लड्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नु भयो , –‘एमसिसी जनताको हितमा छैन। यसविरुद्ध प्रचण्ड लड्नुहुन्छ भन्ने विश्वास छ ।’
महासचिव विप्लव सीले समाजवादी मोर्चा क्रान्तिको प्रतिक भएको बताउदै राष्ट्रहित र प्राप्त उपलब्धीको रक्षाका लागि मोर्चा एक ढिक्का रहेको बताउनु भयो ।
महासचिव विप्लव सीले भन्नु भयो ,–‘अरु कुरामा हामी चार दलबीच फरक मत हुन सक्छ । क्रान्तिद्वारा प्राप्त उपलब्धी रक्षा गर्ने दायित्व छ । देशलाई युक्रेन बनाउन चाहने तत्वहरु छन । साम्राज्यवादी तत्वहरुविरुद्ध हामी लड्छौं, एक ढिक्का छौं ।’
महासचिव विप्लव सीले नेपालमा संसदीय व्यवस्था रहेसम्म शान्ति, स्थिरता र समृद्धि सम्भव नरहेको बताउनु भयो । उहाँले अहिलेको सरकार प्रगतिशील रहेको भन्दै सुशासनका पक्षमा डटेर लाग्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नु भयो । उहाँले आफूहरु भ्रष्टाचार निर्मूल पार्न सडकबाट साथ दिन तयार रहेको समेत दोहोर्याउनु भयो ।
यसैगरी, सोही सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताउनुभयो । उनले भन्नु भयो ,–‘भ्रष्टाचारविरुद्धको अभियान अब रोकिनेवाला छैन। समाजवाद निर्माणको नयाँ अभियानको रुपमा यसलाई अघि बढाइने छ। दायाँबायाँ तेरोमेरो केही पनि हेरिने छैन ।’
प्रधानमन्त्री प्रचण्डले आफूले गरेका राम्रा काम प्रतिक्रियावादी दलालहरुलाई सही सक्नु नभएको भन्दै विरोध गर्न धुप हालेर बसेको जिकिर गर्नु भयो ।
प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेभित्र असन्तुष्टि चुलिएको र विस्फोट हुने खतरा रहेको वताउनु भयो ।
यसैगरी, सोही सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा कलकारखाना तथा उद्योग खोल्न विदेशी पूँजी आउँछ भने स्वागत गर्न तयार रहेको उल्लेख गर्नु भयो । उहाँले एमसिसी परियोजनालाई आफूहरुले विशुद्ध आर्थिक सहयोगका रुपमा लिएको बताउनु भयो ।