१८ पुस,कालिकोट । कालिकोटमा नेपाली कम्युनिष्ट पार्टीभित्र प्रतिनिधि सभामा प्रत्यक्षतर्फको उम्मेदवारी छनौट गर्ने विषयमा चर्को विवाद भएपछि प्रचण्डको नाम सिफारिस गरिएको छ ।
विहिवार नेकपाका केन्द्रीय सदस्य प्रेमवहादुर सिंहको अध्यक्षतामा काठमाडौमा उपलब्ध नेताहरुको बैठकमा उम्मेदवारे चर्को विवाद भएपछि तत्काललाई साम्यपार्न प्रचण्डको नाम सिफारिस गरिएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार आकाँक्षी नेताहरु धेरै भएकाले पनि जिल्लामा धेरै विवाद नहोस भनेर प्रचण्डलाई सिफारिस गरिएको जानकारी दिए ।
नेकपा भित्र जिल्लामा विभिन्न गुटहरुको जमाद छ । महेन्द्र शाही पक्षीय गुटले जसरी पनि शाहीलाई नै आगामी निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी बनाउन चाहान्थ्यो । तर उहाँले धेरै पटक अवसर लिएरपनि जनता,सहिद परिवार,घाईतेहरुको पक्षमा काम नगरेको आलोचना छ ।
त्यसो भएर पनि उहाँलाई जसरी पनि रोक्नु पर्छ भन्ने पक्षमा दुर्ग रावत,धनजीत शाही र जीवन वुढाको अर्को गुट छ । विगतमा पनि यी गुटहरु बिच चर्को अन्तरविरोध आउने गरेका थिए । पार्टी विभाजन हुदा धनजीत शाही बैद्यमा हुनुहुन्थ्यो । उहाँ पछि प्रचण्डतिर जानु भएको थियो । जसले गर्दापनि उहाँ र उहाँको समुहमा भएका नेताहरुलाई अहिले पनि पेल्ने गरिएको एक नेताले बताए ।
हालै एकता प्रक्रियामा आएको एकीकृत समाजवादीका नेताहरु पनि यतिवेला उम्मेदवार बन्न नै चाहानुहुन्थ्यो । उहाँहरुले पनि आफूनिकटहरुसंग बलियो गुट बनाउने प्रयास गर्नु भएको थियो । तुलाराज सिम्खाडा उम्मेदवारका मुख्य आकाँक्षी नेता हुनुहुन्थ्यो । उहाँहरुले पनि आफ्नो दाबी प्रस्तुत गरेपछि बैठकमा चर्को विवाद भएको थियो ।
महेन्द्र शाही पक्षका नेताहरुले आफ्नो उम्मेदवारी दाबीमा रावत,बुढा र शाही पक्षसंगै एकतामा आएको पक्षले पनि अस्वीकार गरेको थियो । बैठकमा केहीवेर आआफ्नो अडानहरु राख्दा विवाद चर्को हुन पुगेको थियो ।
विभिन्न पार्टी चाहार्दै नेकपामा पुग्नु भएका प्रेमवहादुर सिंह पनि आफै उम्मेदवार बन्ने चाहानामा हुुनुहुन्थ्यो । तर त्यो वातावरण नभएपछि उहाँले आफू निकाट नेता प्रकाश राेकायालाई अगाडि सार्नुभएकाे छ ।
यस्तै महेन्द्र पक्षबाट लक्ष्मीप्रसाद चौलागाईं (शैलेन्द्र) पनि आकाँक्षी रहेका छन ।
जेहोस नेकपा भित्रको चर्को अन्तरविरोध साम्यपार्न र प्रकाण्डका विरुद्ध उतार्न पनि कालिकोटमा प्रचण्डलाई अघि सारिएको धेरैको अनुमान छ ।
प्रचण्डको सिफारिसप्रति सहिद परिवार लगायत जनयुद्धमा सहभागी एउटा हिस्साले चर्को विरोध गरेको छ ।
सहिदहरुको सपनामाथि होली खेल्दै माओवाद र माओवादी मुल्य मान्यता छोडेर बरालिदै प्रचण्ड कालिकोट पुगेको भन्दै एउटा हिस्साले प्रचण्डलाई भोट दिन नसकिने सामाजिक सञ्जालमा मत व्यक्त गरेको छ ।
सहिद परिवारका तर्फबाट मान वहादुर तिरुवाले प्रचण्डका विरुद्ध उम्मेदवारी दिएर नै प्रतिस्पर्धा गर्ने घोषणा गरिसक्नु भएको छ ।