पुस १७, काठमाडौं । भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् ।
जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो । तीमध्ये एक गोरखाका थापा मगर रहेको भारतीय सेनाका प्रवक्ता देवेन्द्र आनन्दलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले खबर लेखेको छ ।
समाचार अनुसार, भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत थापा मगर पाकिस्तानी सेनाको गोली लागेर गम्भीर घाइते भएका थिए । घाइते थापा मगरलाई उपचारका लागि अस्पताल लगिएकोमा त्यही उहाँको मृत्यु भएको भारतीय सेनाका प्रवक्ताले बताएका छन् । थापा मगरकाे स्थायी ठेगाना गाेरखा भएकाे उनले बताएका छन् ।
सोही घटनामा सन्दीप रघुनाथको पनि मृत्यु भएको छ । उनी भारतीय नागरिक हुन् ।
भारतीय सेनाका प्रवक्ताले भनेका छन्–राइफलम्यान मगर धेरै बहादुर, आफ्नो पेसाप्रति प्रतिबद्ध र इमान्दर सैनिक थिए । ती बहादुर सिपाहीले वीरगति पाउँदा भारतीय सेना शोकमा छ ।
यसअघि गत कात्तिकमा भारत–पाकिस्तानबीच भएको लडाइँमा पनि गोर्खा रेजिमेन्टमा कार्यरत नेपाली गामिल कुमार श्रेष्ठको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस