पलाँताका अग्निपीडितले प्रतिपरिवार पाए ५ लाख

बैशाख १९, कालिकोट । कर्णाली प्रदेश सरकारले कालिकोटको खाडाका अग्नी पीडितहरुको नमुना घर निर्माणका लागि बिनियोजन गरेको एक करोड ६० लाख रकम गाँउपालिकालाई हस्तान्त्रण गरेको छ ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बुधबार कालिकोटमा आयोजित कानुन तर्जुमा तथा सचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रममा पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र निमित्त प्रमूख प्रशासकिय अधिकृत राजबहादुर बमलाई एक करोड ६० लाखको चेक हस्तान्त्रण गरेका हुन् । कार्यक्रममा प्रमूख अतिथि समेत रहनुभएका मन्त्री भण्डारीले खाडाका अग्नी पीडितहरुको घर असार मसान्तभित्र निर्माण गर्ने गरी काम अगाडी बढाउन गाँउपालिकालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, असार मसान्तभित्र सबैको घर निर्माण गरी सरकार भएर पनि नभएको जस्तो गरी बस्न बाध्य भएका कालिकोटको खाडाका अग्नी पीडितहरुको अनुहारमा मुस्कान ल्याउनुस । प्रदेश सरकारको निर्णय अनुसार खाडाका अग्नी पीडित ३२ परिवारहरुको घर निर्माणका लागि प्रति परिवार ५ लाखका दरले एक करोड ६० लाख बजेट उपलब्ध भएको छ । उहाँले पीडितले राहत महसुस हुने गरी नमुना बस्ती निर्माणको काम थालनी गर्न गाँउपालिकालाई आग्रह गर्नुभयो ।

गत बर्षको पुष ८ गते भएको आग्लागीमा न्यौपाने बैशहरुको पुख्र्यौली थलो खाडाका ३२ घरहरु जलेर नष्ट भएका थिए । त्यस लगत्तै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खाडामै पुगेर आग्लागीले जलेर खरानी भएको खाडामा खरमुक्त नमुना बस्ती निर्माण गरिदिने घोषणा गर्नुभएको थियो । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारेले आफुहरु समृद्ध कर्णाली प्रदेश निर्माणको सपना बोकेर लागिरहेको बताउनुभयो ।

उहाँले कर्णालीको प्राकृतिक श्रोत साधनहरुको अधिकतम सदुपयोग गरी नीति निर्माणका साथै बजेट केन्द्रीत गरिने बताउनुभयो । उहाँले यहिले प्रदेश सरकारले बिभिन्न कानुनहरु निर्माण र कर्णालीको सम्भावनाहरुको पहिचान गरिसकेको बताउदै आउने आर्थिक बर्षदेखी विकास समृद्धिको गति बढ्ने बताउनुभयो ।

पलाँता गाँउपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले तत्काल खाडाको बस्ती पुनिर्माणको काम थालनी गर्ने बताउनुभएको छ । उहाँले अग्नी पीडितहरुको घर निर्माणका लागि प्रदेश सरकारले उपलब्ध गराएको रकम बुझ्दै खाडाको नमुना बस्ती निर्माणका अब ढिला नहुने बताउनुभयो । पलाँतामा रहेको युवाहरुको विकास कार्यदललाई अब तत्काल घर निर्माणको काममा लगाने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस