सरकारले भारतको दलाली गर्यो ः मोहन वैद्य

१९ जेठ, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले बजेटमार्फत खानीढुंगा, गिट्टी, बालुवा उत्खनन् गरी निकासी गर्ने नीति ल्याएर सरकारले भारतको दलाली गरेको आरोप लगाउनु भएको छ ।

वैद्यले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै देशको पर्यावरण तथा राष्ट्रिय अस्मिताकाविरुद्ध खानीढुङ्गा, गिट्टी, बालुवा भारततर्फ निकासी गर्ने नीति ल्याएर सरकारले भारतीय विस्तारवादको दलाली गरेको बताउनु भएको हो ।

उहाले बजेटका अन्य विषयको समेत विरोध गर्नु भएको छ । दोस्रो पटक प्रतिनिधिसभा विघटनसम्म आउँदा देशको राजनीतिक परिस्थिति असामान्य बन्दै जान थालेको वैद्यले उल्लेख गर्नु भयो ।

‘गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता लगायत जनयुद्ध तथा जनआन्दोलनका आंशिक उपलब्धि गुम्ने मात्र होइन, देशको राष्ट्रिय स्वाधीनतामाथि नै गम्भीर खतरा पैदा हुन थालेको छ,’ वैद्यले विज्ञप्तिमा भन्नु भएको छ , ‘यो बेला एकैसाथ राष्ट्रियता तथा जनतन्त्रका समस्या पहिलेभन्दा झनै गम्भीर बन्दै गएका छन् र देश निरंकुशतावाद, फाँसीवाद तथा राष्ट्रघातको कहालीलाग्दो अवस्थामा पुग्न थालेको छ ।’

प्रतिक्रिया दिनुहोस