१८ साउन, सुर्खेत । केन्द्रमा सत्ता समीकरण बदलिएको लामो समयपछि नेपाली कांग्रेसले शुक्रबार कर्णाली प्रदेश सरकारमा सहभागी हुने सांसदहरूको नाम पठाएको थियो। प्रदेश सभा दलले चार जनालाई मन्त्रीका रूपमा नियुक्त गर्न मुख्यमन्त्री यामलाल कँडेललाई नाम पठाएको थियो।
कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजिबविक्रम शाह, उद्योग मन्त्रालयमा सुरेश अधिकारी, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी र ऊर्जा मन्त्रालयमा बिजया बुढाको नाम तोकेर सिफारिस गरेको थियो।
सत्ता समीकरण बदलिएसँगै माओवादी केन्द्रका मन्त्री फिर्ता भएपछि साउन ७ गतेदेखि यी मन्त्रालय खाली थिए। कांग्रेसले तीनै मन्त्रालय लिने योजनासहित सांसदहरूको नाम पठाएको हो।
मुख्यमन्त्रीलाई सिफारिस गरिएका ती सांसदलाई मुख्यमन्त्री कँडेलले शुक्रबार नै मन्त्रीमा नियुक्त गर्ने र शपथ गराउनेमा कांग्रेस ढुक्क थियो।
सांसदहरूलाई दलले सोहीअनुसार सर्कुलर गरेको थियो। सांसदहरू शपथको लागि तयार भइसकेका बेला शपथ नै नहुने जानकारी आयो।
‘हाम्रो दलले भनेअनुसारको समयमा हामी शपथका लागि तयार भइसकेका थियौं, अचानक शपथ नहुने कुरा आयो,’ मन्त्रीका लागि नाम नाम सिफारिस भएका एक सांसदले भने, ‘के कारणले शपथ भएन भन्ने पनि थाहा भएन, अब कहिले हुन्छ भन्ने पनि थाहा छैन।’
मुख्यमन्त्री कँडेलले शुक्रबार नै शपथ गराउन नखोजेको देखिएको छ। उनले कांग्रेसले आफूसँग सल्लाह नै नगरी मन्त्रालयसहित तोकेर नाम सिफारिस गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
मुख्यमन्त्री कँडेलले प्रदेश प्रमुख यज्ञराज जोशीकहाँ गएर शुक्रबार नै यो विषयमा असन्तुष्टि जनाएका थिए।
कांग्रेसबाट सिफारिस भएका नामहरू प्रदेश प्रमुखलाई पठाउनुअघि मुख्यमन्त्री कँडेल प्रदेश प्रमुखको समय मागेर तीन बजेतिर पुगेका थिए। त्यसक्रममा उनले प्रदेश प्रमुखसँग कांग्रेसले आफूसँग सल्लाह नगरी मन्त्री सिफारिस गरेकोले छलफल गर्नुपर्ने बताएका थिए।
‘मुख्यमन्त्रीले हामीसँग छलफल नै नगरी कांग्रेसले खाली मन्त्रालय आफ्नै होलान् जस्तो गरेर सांसदको नाम तोकेर पठायो, हामीले यसमा छलफल गर्नुपर्ने हुन्छ भन्नुभयो,’ प्रदेश प्रमुख जोशीको भनाई उद्धृत गर्दै उनीनिकट एक नेताले भने ।
शुक्रबार गर्ने भनिएको शपथ रोकिएपछि यो विषयमा मन्त्री सिफारिस भएको सांसदहरूले केन्द्र काठमाडौंमा भएको जीवन शाही लगायत नेतालाई जानकारी गराएका थिए। शाहीले भने यो विषयमा मुख्यमन्त्री कँडेलसँग छलफल भएको र छलफलकै आधारमा खाली मन्त्रालयमा नाम सिफारिस गरेको जानकारी आफूलाई दिई मन्त्री सिफारिस भएको एक सांसदले बताए।
यसअघि नै मुख्यमन्त्री कँडेलले मन्त्रालय हेरफेर गरेर कांग्रेसलाई सरकारमा सहभागी गराउने संकेत गरेको थिए। गत शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उनले मन्त्रिपरिषदलाई पूर्णता दिने विषयको प्रश्नमा छलफलका आधारमा मन्त्रिपरिषद विस्तार गर्नुपर्ने भएकाले ढिलाई हुने बताएका थिए।
उता कांग्रेसले पनि सरकारमा सहभागी हुने सांसदको नाम टुंगो लगाउन समय लगाएको थियो।
कांग्रेसले काठमाडौंमै बसेर मन्त्री हुने सांसदको टुंगो लगाएर आएको थियो। केन्द्रमा भएका संसदीय दलका नेता (हाल निलम्बित) जीवन शाही, पार्टी उपसभापति पूर्णबहादुर खड्का लगायतका शिर्ष नेतासँग छलफल गरेर कांग्रेसले मन्त्री बन्ने सांसदको टुंगो लगाएको थियो। सोही आधारमा आज (शुक्रबार) नाम सिफारिस गरेको थियो।