विप्लव,प्रकाण्ड लगायतका नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा सत्तारुढ साँसदकै आपत्ति

१७ साउन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदहरुले नेकपामा महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायतका नेता माथि पक्राउ पुर्जी जारी गरेकोमा आपत्ति प्रकट गरेका छन ।

साँसद अमनलाल मोदीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुमाथि पक्राउ पुर्जी जारी गर्नु गलत भएको भन्दै मंगलवारको संसद वैठकमा आपत्ति जनाउनु भएको हो ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले सरकारसँगको सहमतिका आधारमा जेलमा रहेका विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई रिहा गर्नुको साटो उल्टै पक्राउ पुर्जी जारी गरिएको भन्दै असन्तुष्टि जनाउनु भयो ।
मोदीले सरकारले यसअघि नेकपाका नेता÷कार्यकर्तामाथि लागेका मुद्दाहरू खारेज गर्ने र जेलमा रहेकाहरुलाई प्रक्रिया पूरा गरी रिहा गर्ने सहमति जनाए पनि नेताहरूमाथि पक्राउ पुर्जी जारी गर्नु गलत भएको वताउनु भयो ।

उहाँले भन्नु भयो ‘नेकपा सँग सरकारले तीन बुँदे सहमति गरेको छ । त्यसको कार्यान्वयनको सट्टा अहिले पनि धरपकड, वारेन्ट जारी हुन त यो अदालतको कुरा हो । तर, सरकारसँग वार्ता गरिसकेपछि सरकारले पहलकदमी लिनुपर्छ । जेलमा रहेका बन्दी रिहाइ गरिनुपर्छ ।’


ललितपुर जिल्ला अदालतले सोमबार सार्वजनिक सूजना जारी गर्दै महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विक, केन्द्रीय सदस्य शिलु,भरत वम र नेकपावाट वाहिरिएका हेमन्तप्रकाश वली, मोहनबहादुर कार्की लगायतका नेता विरुद्ध हातहतियार तथा खरखजाना, संगठित अपराध र आपराधिक लाभ, विस्फोट गराई कर्तव्य ज्यान तथा राज्य विरुद्धको अपराध र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो ।

सांसद मोदीले संविधान जारी गर्नुअघि भएको थारु आन्दोलनका क्रममा पक्राउ परेर जेलमा रहेका र मुद्दा लगाइएका नेता कार्यकर्तालाई पनि रिहा गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै माओवादी केन्द्रकी सांसद यशोदा गुरुङले पनि वारेण्टप्रति आपत्ति जनाउनु भयो । उहाँले पनि उक्त वारेण्ट फिर्ता लिन सरकारलाई आग्रह गर्नु भयो ।
यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विलप्व’ विरुद्ध सरकारद्वारा जारी वारेन्टप्रति आपत्ति जनाएको छ । मंगलबार संसदको विशेष समयमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले वारेण्ट फिर्ता लिएर राजनीतिक सहमतिमा इमान्दार बन्न आग्रह गर्नु भयो ।

भट्टराइले भन्नु भयो, ‘विप्लवको कारबाहीका लागि फेरि वारेन्टको प्रश्न आएको छ । तत्कालीन सरकारले तीन बुँदे सहमति गरेको थियो । उक्त सहमतिपछि जनतामा पनि खुसी छाएको थियो । अहिले यो सरकारले अघिल्लो सरकारले गरेका सहमति वा कामलाई अघि बढाउनु पर्नेमा विभिन्न बहानामा विप्लवलाई त्यही बाटोमा जान उद्धत बनाउन खोजेको हो ? यो कदमबाट सरकार तत्काल पछि हटोस् ।’
यसैविच नेकपा माओवादी केन्द्रका नेता देव प्रसाद गुरुङ्गले पनि आफ्नो फेसवुक एकाउण्टमा स्टाटस लेख्दै विप्लव र उसका पार्टीका नेता माथि पक्राउ पुर्जी जारी गर्नु गलत भएको वताउनु भएको छ ।

उहाँले सरकारले गरेको तीन वुदे सहमति लागु गर्नु पर्नेमा जोड दिनु भएको छ । सरकारको यस्तो कदमको अन्य वाम कम्युनिष्ट पार्टी,वकिल तथा नागरिक समाजवाट समेत चर्को विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस