प्रदेश ५को नाम र राजधानीको प्रस्ताव प्रदेश सभामा पेस, १९ गते मतदान हुँदै


असोज १६वाँके । प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएको छ । प्रदेश ५का कानुनमन्त्री कुलप्रसाद केसीले सरकारका तर्फबाट सो प्रस्ताव प्रदेशसभामा पेस गर्नु भएको हो ।
प्रस्ताव माथि अन्तिम टुंगो लगाउन असोज १९ गते मतदान हुने प्रदेश सभा सचिवालयले जनाएको छ । दिउँसो १२ बजे संसदमा मतदान हुने प्रदेशका सभामुख पूर्ण घर्तीको स्वकीय सचिवालयले जानकारी दिएको छ ।
प्रदेशको राजधानी र नामको प्रस्ताव संसदमा पेस गरेपछि शनिबार बिहान नेकपा संसदीय दलले बैठक बोलाएको छ । बिहान ८ बजे संसदीय दलको बैठक बोलाएको हो । नेकपा प्रदेश कमिटीले आफ्ना सांसदरहरूलाई सरकारले ल्याएको पक्षमा मतदान गर्न अनौपचारिक ह्विप जारी गर्न बैठक बोलाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी बनाउने विषयमा सहमति भएको थियो । यो विषयमा नेकपाको सचिवालय सदस्यहरूबीच पनि अनौपचारिक छलफल भएको थियो

प्रतिक्रिया दिनुहोस