२१ माघ, दाङ । नेकपा निकट समाजवादी थारु मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन बैसाख १० गते दाङमा उद्घाटन हुने भएको छ ।
समाजवादी थारु मुक्ति मोर्चाको आईतवार दाङमा वसेको केन्द्रीय समितिको पूर्ण बैठकले राष्ट्रिय सम्मेलन नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिनको अवसर पारेर बैसाख १० गते दाङमा उद्घाटन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सम्मेलनको बन्दसत्र वैसाख ११ र १२ गते हुनेछ । थारु समुदायको पहिचान झल्किने गरी थारु जातिको लोक संस्कृति र झाँकी सहित भव्य तयारी गरी उद्घाटन सत्रमा सहभागी हुने निर्णय भएको छ ।
मोर्चाको बैठकले राष्ट्रिय सम्मेलन भव्य एवम सान्दार रुपमा सम्पन्न गर्न तयारी रुवरुप आवश्यक जिम्मेवारी विभाजन समेत गरेको छ ।
वैठकले नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर सहित ९ जिल्लाको राष्ट्रिय सम्मेलन पूर्व जिल्ला सम्मेलनहरु गर्ने, प्रतिनिधि पर्यवेक्षक छनौट गर्ने, आर्थिक तयारी गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको मोर्चाले जनाएको छ ।
बैठकलाई नेकपाका स्थायी समिति सदस्य तथा लुम्विनी प्रदेश इन्चार्ज सन्तोष सीले सम्वोधन गर्दै नेपालमा दलाल पुँजीवादको प्रमुख समस्या भएकाले त्यसको अन्त्य विना कुनै पनि उत्पीडित जाति क्षेत्रको मुक्ति नहुने बताउनु भयो ।
उहाँले सबै जातिको अधिकार समाजवादले दिने दाबी गर्दै नेपाली विशेषताको समाजवादी व्यवस्थाको स्थापनका लागि थारु समुदायहरु एकताबद्ध हुनु पर्ने जिकिर गर्नु भयो ।
नेता सन्तोषले नेपालमा साम्राज्यवादीहरुले विभिन्न जात जातिहरु बिच विभाजन ल्याएर आफ्नो स्वार्थ पूर्ति गर्ने षड्यन्त्र गरिरहेको भन्दै त्यसप्रति थारु समुदायहरु सहित सबै सचेत हुनुपर्ने बताउनु भयो ।
मोर्चाका संयोजक नाथूराम चौधरीको अध्यक्षतामा वसेको वैठकमा ९ जिल्लाबाट सहभागी केन्द्रीय समितिका सदस्यहरुको सहभागीता रहेको थियो ।