कोरोना नियन्त्रणको नाममा भ्रष्ट र कमिसनखोरी : प्रतिरोधको आवस्यकता

कोरोना भाइरस अथवा कोभिड (१९) को महामारीका कारण विश्वले अहिले संकट व्यहोरी रहेको समयमा अर्थतन्त्रको हिसाबले फस्टाएका र बिकासको क्षेत्रमा निकै नै माथि उठेका युरोपेली राष्ट्रहरु समेत थला पर्दै गरेको अबस्थामा हाम्रो राष्ट्रमा “कोरोना बिरुद्ध नियन्त्रण नामक मुकुण्डो लगाएर कमिसनको धन्दा गर्नेको दिन दिनै बिगबिगी बढिरहेको छ।

वर्तमान समयमा हाम्रो राष्ट्रमा कोरोना भाइरसलाई नियन्त्रण गर्न छुट्याइएको बजेट माथी निकै घोटाला गर्दै सिंहदरबारदेखि गाउँ गाउँसम्म कालोबजारी, कमिसनखोरी, भ्रष्टाचार गर्ने काममा कम्युनिष्टको खोल ओढेर कमाउनिष्टहरु बर्तमान दलाल संसदीय ब्यबस्थाका खेताला र यिनका मालिकहरु जताततै लागि परेका र नेतृत्व गरेकाे अबस्थामा देखिन्छन् भने जनताको जन-जीविका दिनदहाडै खस्किदै गइरहेको अबस्थामा छ।

कोरोनाको महामारीले गर्दा जनताहरु एक किसिमबाट त्रसित छन् भने लकडाउनको अबस्थामा देशका विभिन्न सिमा क्षेत्रका नाकाहरु बन्द हुदा दैनिक उपभोग्य बस्तुहरुको आयात न्यून भैरहेको छ।  यस्तो अवस्थामा सर्वसाधारण र दुरदराजका जनता महंगीको मारमा परिरहेका छन्। दैनिक ज्याला मजदुरी गरेर खानेहरु लगायत ग्रामिण भेगका कतिपय जनता त भोकभोकै बस्नुपर्ने अवस्थामा छन्।  जसले गर्दा नेपाली जनतामा निराशा पैदा भैरहेको छ। त्यसमाथी आफ्नो परिबार पाल्न बिदेशिएका नेपाली नागरिकहरु लकडाउनको नाममा सीमानाकामा भोकभोकै अल्झिएर बस्न बाध्य छन्।

उनीहरु आफ्नो देशको सीमामा आइपुग्दा पनि भारतीय प्रहरी र त्यहाँका बासिन्दाको दुर्ब्यबहार सहन बाध्य छन्।  यता नेपाल छिरेका नेपाली दाजुभाइहरुलाई क्वारेन्टाइनमा राख्ने नाममा उचित ब्यबस्थापन हुन सकेको छैन। तर सत्ताधारीहरु आफुहरुले आकाशै खसाले जस्तो गरी दाबा गरिरहेका छन् कि सबै ठिक छ।  उनीहरुले क्वारेनटाइन ब्यबस्थापन गर्ने नाममा ब्यापक मात्रामा भ्रस्टाचार गरिरहेका छन्। यी यस्तै खाले भ्रस्टाचारको नेपाली जनताले  चौतर्फी रुपमा बिरोध गरिरहेका छन्।  यी भ्रस्टाचारबिरोधी आवाजहरुलाई अरु बुलन्द गरिनुपर्ने आवस्यकता छ ।

हाम्रो राष्ट्रले यस भन्दा अघि महाभुकम्प ,बाढी, पहिरो, हावाहुरीबाट निक‌ै नै क्षति व्यहोरेको अनुभव गरिसकेको छ। सरकारको अदुरदर्शिता, कमजोर तयारी र आर्थिक अपारदशिता हेर्दा नेपालले अहिले आएर कोरोना भाइरस संक्रमणकाकारण ठुलो क्षति व्यहोर्नुपर्ने आंकलन गर्न सकिन्छ। एकातिर कोरोना भाइरस संक्रमणको चिन्ता र अर्कोतिर त्यसकै नाममा हुने आर्थिक अनियमितता, अपारदर्शिता र भ्रस्टाचारका कारण नेपाली जनतामाथि पर्ने आर्थिक व्ययभार बढ्ने प्रष्ट संकेतहरु देखिएका छन्। जसका बारेमा नेपाली जनतालाई बेलैमा सचेत गराएर सम्भाभित व्ययभार र संक्रमणको चिन्तालाई मुक्त गर्न पहलको आवस्यकता छ।  त्यसमाथि पनि कोरोना संक्रमणको नाममा हुने भ्रस्टाचारको दह्रो तालले प्रतिरोध गर्न पर्ने देखिन्छ।  यसमा ढिलाई गर्नु हुदैन।

एकातिर कोरोना भाइरस फैलिन सक्ने कारण देखाएर अहिले स्कुल, क्याम्पस लगायत सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिएका छन्। अर्कोतिर देश लकडाउनकाकारण आर्थिक अभावाकाकारण सर्वसाधारण जनताको घरमा अन्नपात नहुने तर हुनेखानेको घरमा ठुलो मात्रामा गोदाममा थन्किएर रहेको अवस्था छ।  सर्वसाधारण जनताको यहीकारण स्वास्थ्य सेवाप्रति पहुँच नभएकाकारण रोगले ग्रस्त भएर बस्न बाध्य हुनुपरेको छ।  सिमित पुँजीपतिहरुको कब्जामा रहेको नेपालको स्वास्थ्य सेवा क्षेत्रहरुमा गरीब र निमुखाको पहुँच नै छैन भन्दा पनि हुन्छ। जसले गर्दा प्रत्यक्ष रुपमा सर्वसाधारण जनताहरु मर्कामा छदैछन् भने तिनै पुजिपतिहरुको नियन्त्रणमा रहेको स्वास्थ्य सेवा क्षेत्रमा कोरोना भाइरस भन्दा पनि डर लाग्दो तरीकाले  भ्रस्टाचार र अनियमिता फैलिएको छ।

कोरोना भाइरस बिश्वमा फ‌ैलिरहेको अबस्थामा पुजीवाद र समाजबादलाई सर्वहारा, गरिब, उत्पीडित  श्रमजीवी जनताहरुले प्रष्ट रुपमा एैना झै छर्लङ्ग बुझ्ने मौका पनि पाएका छन्। जबसम्म दलाल पुजीवादी संसदीय ब्यबस्थाको अन्त्य नभएर सर्बहारा श्रमजीवी वर्गको बैज्ञानिक समाजबाद आउदैन, तबसम्म जनताका जनजीविकाका समस्याहरुको हल हुन सक्दैन।  तसर्थ दलाल पुजीवादी संसदीय व्यवस्थाको विकल्प बैज्ञानिक समाजबाद स्थापनाका लागि संघर्ष गर्नको लागि सबै आम नेपाली आमाबुबा ,दाजुभाइ दिदिबहिनीहरुलाई एकीकृत भएर अघि बढ्नुपर्ने आवस्यकता देखिन्छ।

प्रतिक्रिया दिनुहोस