प्रहरीको आग्रह एसईई विद्यार्थीलाई : विप्लव समूह देखे १०० मा फोन गर्नु

 

चैत्र २०, कालिकोट ।  देशभर विप्लव समुहका कार्यकर्ता पक्राउ परिरहँदा कालिकोटको वस्तुस्थिति भने फरक छ । कालिकोट जिल्ला नै विप्लव समुहको प्रभाव क्षेत्र मानिन्छ ।

केही साताअघि मात्रै यहाँ दिउसै निकालिएको सडक र्याली र राँके जुलुस, खड्गबहादुर विश्वकर्माको भव्य स्वागत जस्ता कार्यक्रमले पनि विप्लव समुहको प्रभाव पुष्टि हुन्छ ।

यता प्रहरी र स्थानीय जनप्रतिनिधि भने युवाहरु विप्लव समुहमा लाग्छन् कि भन्नेमा सशंकित देखिएका छन् । हालै एसईई दिएर घर फर्कन लागेका विद्यार्थीलाई प्रहरी र जनप्रतिनिधिले सम्बोधन गर्दै विप्लव समुहमा नलाग्न आग्रह गरे ।

प्रहरीको आग्रह

जिल्ला सदरमुकाम मान्मस्थित महादेव आधारभुत विद्यालयमा परिक्षा दिएर घर फर्कन तयार भएका सय भन्दा धेरै विद्यार्थीलाई प्रहरी र जनप्रतिनिधिले सम्बोधन गरेका थिए ।

यस क्रममा जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी विनोद शर्माले विद्यार्थीहरुलाई सार्वजनिक रुपमै गाउँमा विप्लवका नेता देखे प्रहरीलाई खबर गर्न अनुरोध गरे ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमको आयोजनाको क्रममा सहभागी भएका एक सय ५० विद्यार्थीलाई प्रहरीले यस्तो आग्रह गरेका हुन् । विद्यार्थीलाई नै लक्षित गरी जिल्लामा प्रहरीले उक्त कार्यक्रम सञ्चालन गरेको थियो । उच्च शिक्षाको तयारी गर्न र उज्वल भविस्यको कामना गर्न पनि प्रहरीले विद्यार्थीलाई आग्रह गरेको थियो ।

प्रहरी प्रमुख शर्माले भने, ‘कुलतमा नलाग्नु, समाजमा रहेका विभिन्न बिकृतिहरुको बिरुद्धमा उभिनु, उच्च शिक्षा हासिल गर्न तयारीका लागि तयारी कक्षाहरु लिनु, विप्लव समुहमा पनि नलाग्नु, गाँँउमा विप्लव समुहका नेताहरु देखेपछि सय नम्बरमा फोन गरेर प्रहरीलाई खबर गर्नु ।’

एसईई दिने उमेर किशोरावस्थाका विद्यार्थीहरु भएकाले यसमा अभिभावहरुले पनि उनीहरुको भविस्यका लागि सोच्नुपर्ने बताए । ‘गाँउमा विप्लवका नेताहरुले एसईई दिने विद्यार्थीहरुलाई पनि आफ्ना कार्यक्रममा हिडौँ भनेर लगिरहेका छन् । तिमिहरु त्यसमा नजानु, उज्वल भविस्यका लागि सकारात्मक कार्यमा लाग्नुपर्छ ।’

कार्यक्रममा खाँडाचक्र नगरपालिका उपमेयर विजया विष्टले पनि एसईई दिएर घर फर्कन लागेका विद्यार्थीहरुलाई उज्वल भविस्ययको कामना सहित मिठाइ बितरण गरिन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले जिल्लाका १८ वटै परिक्षा केन्द्रमा समुदाय प्रहरी साझेदारी कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई बिदाइ गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक हरिबहादुर बस्नेत लगायत प्रहरी अधिकृतले कार्यक्रममा बोलेका थिए । प्रहरीले जिल्लाका ९ वटै स्थानीय तह, ८२ वटै वडा र २५ वटा माध्यामिक विद्यायमा समिति बनाएर अभियान चलाइरहेको बताइएको छ ।

अभियान अन्तर्गत जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन स्थानीय तह, सामुदायिक संस्था तथा विद्यालयसँगको साझेदारीमा विद्यालय तथा समुदायमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको छ । यस वर्ष कालिकोटबाट एसईई परिक्षामा ३ हजार ६ सय ११ जना विद्यार्थी सहभागी भए ।

प्रतिक्रिया दिनुहोस