२० वैसाख,सुर्खेत । कर्णाली प्रदेश सरकारले अस्पताल भर्ना भएका कोरोनाका बिरामीलाई पौष्टिक खाना खुवाउन दैनिक ४ सयदेखि ६ सय रुपैयाँ दिने निर्णय गरेको छ ।
आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।
हुम्ला, मुगु र डोल्पाका बिरामीलाई दैनिक ६ सय रुपैयाँ, कालीकोट र जुम्लाका बिरामीलाई दैनिक ५ सय रुपैयाँ र अन्य जिल्लाका बिरामीलाई ४ सय रुपैयाँ खानाको लागि उपलब्ध गराउने निर्णय गरिएको छ ।
बैठकले कोभिडका बिरामीका लागि प्रदेश अस्पतालमा ५ सय बेड तयार गर्ने निर्णय पनि गरेको छ ।
तत्काल अक्सिजनसहितका एक सय बेड सञ्चालनमा ल्याउने र ३ सय बेड तयारीका लागि प्रिफ्याबको हल बनाउन नेपाली सेनालाई जिम्मा दिने पनि निर्णय गरिएको छ ।
त्यसै गरी कालीकोट, दैलेख, रुकुम पश्चिम, जाजरकोट र सल्यानका जिल्ला अस्पतालमा अक्सिजनसहित एक सय बेड र हुम्ला, मुगु र डोल्पामा अक्सिजनसहित ५० बेड तयार गर्ने निर्णय गरिएको छ ।
प्रदेशभर कार्यरत स्वास्थ्यकर्मीमध्ये ७५ प्रतिशतलाई कोभिडको उपचारमा परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।