२० वैसाख, काठमाडौँ। नेपालमा हालसम्म कोरोनाबाट ७ जना पत्रकारको मृत्यु भएको नेपाल पत्रकार महासंघले जनाएको छ । यस्तै,५ सय ५० जना पत्रकारलाई कोरोना संक्रमण भएको छ ।
संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना आईसीयूमा उपचाररत रहेको महासंघले जनाएको छ ।
महासंघका महासिचव रोशन पुरीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको दोस्रो लहर नेपालमा बढिरहेको जनाउँदै पत्रकारहरुको स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको जनाउनु भएको छ ।
यो संवेदनशील घडीमा कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुन आग्रह गर्दै महासंघले पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल समेत गरेको छ ।
महासंघले गरेको आग्रहअनुसार कतिपय शाखामा अक्सिजनसहितको आइसोलेसनको व्यवस्था गरिएको छ ।
कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पीसीआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह समेत गरेको छ ।
कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउनसमेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस