विद्यार्थी कुट्ने रोल्पाकी शिक्षिका प्रहरीको नियन्त्रणमा

जेठ २०, दाङ । विद्यार्थीलाई कुटपिट गर्ने रोल्पाको रुन्टीगढी गाउँपालिका– ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले सोमवार नियन्त्रणमा लिएको छ । विद्यार्थीका अभिभावकको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

शिक्षिका पुनको कुटाईबाट १४ जना विद्यार्थी घाईते भएका थिए । उक्त विषयमा थप अनुसन्धान भईरहेको बताईएको छ ।

शिक्षिका पुनको कुटाईबाट घाइते हुनेमा कक्षा १ मा पढ्ने देखि ८ कक्षासम्म पढ्ने विद्यार्थी छन् । घाइते मध्य भिमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हातमा चोठ लागे पछि तुलसीपुर स्थित सहारा पोलिकिल्निकमा पलाष्टर गरिएको छ ।

उपचारमा संलग्न डा. घनश्याम शर्माका अनुसार घाइते बालिकाको हात जोर्नी, अनुहार लगाएतमा समस्या देखीएको छ । जोर्नीमा दबाब देखिएपनि केहि दिनपछि सुधार आउन सक्ने डाक्टर शर्माले बताउनुभयो ।

शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै विद्यार्थीहरुलाई लाठ्ठी प्रयोग गरी कुटेको घाइते बालिका भिमकुमारी बाँठाले बताउनुभयो । शिक्षिकाको कुटाईबाट घाइते हुने अन्य विद्यार्थीहरुमा कक्षा एकका प्रेम पुन, सहित सन्तोष बुढामगर लगाएतका रहेका छन् ।

शिक्षिकाको कुटपिटबाट घाईते भएका रोल्पाका १४ जना बिद्यार्थीहरु उपचार पछि घर फर्किएका छन् । आईतबार उपचारका लागि तुलसीपुर आएका उनीहरु उपचार पछि सोमबार घर फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस