कुण्ठा र पूर्वाग्रहको राजनीति भन्दा माथि उठ्न कंचन र सुदर्शनलाई विप्लवको आग्रह

महाधिवेशन असोजमा हुने

२० जेठ,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले कुण्ठा र पूर्वाग्रहको राजनीति भन्दा माथि उठन पार्टी छोडेका नेता कंचन र सुदर्शनलाई आग्रह गर्नु भएको छ ।

पार्टी केन्द्रीय समितिको १३ औं वैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न सुक्रवार काठमाडौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वोल्दै महासचिव विप्लवले कुण्ठा र पूर्वाग्रहका कारण हतारमा पार्टी विभाजन गरिएको आरोप लगाउनु भयो ।

उहाँले राजनैतिक नेतृत्वले निर्णय गर्दा कम्तिमा सुझ वुझ सहित गर्नु पर्नेमा त्यसो नगरी २ हप्ता भित्रै एकाएक विभाजनको निर्णय गरिएको भन्दै पटक पकट पार्टी विभाजन तिर नलाग्न आग्रह गर्दा पनि नमानेर मिडिया वाजी गरी विभाजन तिर लागेको वताउनु भयो ।
महासचिव विप्लवले भन्नु भयो “हामी पनि मिडियामा जान सक्थ्यौ, उहाँहरुले मात्र मिडिया देखेको होइन,साथिहरुलाई त्यसो नगर भन्दा मान्नु भएन ।”
महासचिव विप्लवले पार्टीको १२ औं केन्द्रीय समितिको निर्णय अनुसार पार्टीले एमसीसी विरोधी शक्तिलाई सहयोग गर्ने र सहयोग लिने नीति अनुसार पार्टी स्थानीय तहको निर्वाचनमा प्रयोग गर्ने नीति अनुसार सहभागी भएको स्पष्ट पार्नु भयो ।
उहाँले भन्नु भयो “यदि निर्वाचनमा जाने कुरा चित्त नवुझिएको भए फरकमत सहित महाधिवेशनमा जान सकिन्थ्यो । तर त्यसो नगरी गम्भीर अनुशासन उल्लंघन गर्नु भयो । यो क्रान्तिकारी पार्टीको लागि सहि थिएन । निलम्वन गर्नुपर्ने अवस्था आयो । ”

महासचिव विप्लवले अझै पनि उहाँहरु तर्फ लक्षित गर्दै कमी कमजोरी प्रति आत्मालोचित भएर रुपान्तरण हुन सकिन्छ ,त्यो भएमा पार्टी एकताको सम्भावना पनि रहन सक्छ भन्नु भयो । उहाँले साथीहरुलाई गल्ती नगर्न र रुपान्तरण भएर पार्टीमा फर्किन आग्रह पनि गर्नु भयो ।
महासचिव विप्लवले भन्नु भयो “क्रान्ति सजिलो छैन । यो न त रुसी मोडले हुनेवाला छ, नत चिनियाँ मोडलले हुनेवाला छ । यो त अहिलेको नेपाली विशेषता अनुसार तय गरिएको एकीकृत जनक्रान्तिको नियम अनुसार गर्नु पर्दछ हामीले भनिरहेका छौ । त्यसलाई वुझनमा साथीहरुमा केही समस्या देखियो ।”

उहाँले कंचन र सुदर्शनले ल्याएको कार्यदिशा र रणनीतिमा खास्सै कुनै अन्तर नभएको स्पष्ट पार्दै सामान्य चुनावी कार्यनीति प्रयोगको विषयमा पार्टी नै विभाजन गर्नु पर्ने अवस्था नभएको वताउनु भयो । महासचिव विप्लवले भन्नु भयो “क्रान्तिकारी को हो ? को होइन ? यो त इतिहासले फैसला गर्ने विषय हो । कोही कसैले हतारमा चर्को कुरा गर्दैमा क्रान्तिकारी भइदैन । क्रान्ति सिधा रेखावाट पनि अहिलेको परिस्थितिले हुन सक्दैन । केही नयाँ विशेषता अनुसार जानैपर्छ ।”
महासचिव विप्लवले सिंगो कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर लैजाने आफ्नो सपना भएको भन्दै वैज्ञानिक समाजवाद स्थापना गर्न सवै कम्युनिष्ट क्रान्तिकारीहरु विचको धुव्रीकरण नभई असम्भव भएको पनि प्रष्ट्याउनु भयो ।

महासचिव विप्लवलाई पत्रकार सम्मेलनमा एक पत्रकारले सिंगो कम्युनिष्ट एकताका कुरा गर्नु हुन्छ तर आफ्नै पार्टी एकता गर्न सक्नु भएन नि ? भनेरर सोधेको प्रश्नको जवाफ दिदै विप्लवले भन्नु भयो “यो निश्चित गम्भीर विषय हो । तर कहिले काँही परिवार भित्र त विपती हुदा सम्वन्ध विच्छेद हुन्छ । यो त पार्टीको विषय हो । विचार सिद्धान्तको विषय हो । कहिले काँही विभाजन हुन सक्छ । यो विश्वका कम्युनिष्टहरुको समस्या हो । यसलाई हल गर्न सकिन्छ । त्यो समाधानको सहि उपायको खोजीमा छौ । सामाधन हुन्छ । वाटो भेटिन्छ ।”

सुदर्शन ०५३ को सीसीएम र तपाई ०५५को सीसीएम भएकाले त अन्तरविरोध भएको होईन ? भन्ने एक अर्को पत्रकारको जिज्ञासामा महासचिव विप्लवले त्यसो नभएको स्पष्ट पार्नु भयो ।

उहाँले भन्नु भयो “बरु ०५३ कै हैशियतमा राजनीतिक,आर्थिक,सामाजिक,साँस्कृतिक रुपमा सुदर्शन जी माथि उठेर आउनु भएमा सहयोग नै हुन्छ । होइन भने अहिले ०७९ साल हो । यो भन्दा पछाडि फर्किएमा गार्हो हुन्छ ।” महासचिव विप्लवले कुनै पनि वहानामा क्रान्ति नरोकिने भन्दै नेपाली क्रान्ति पुरा गर्न जस्तो सुकै जोखिम उठाउन आफु तयार रहेको विश्वास दिलाउनु भयो ।

उहाँले साम्राज्वादीहरुको हस्तक्षेपवाट देशलाई मुक्त गर्नु, एमसीसी जस्ता राष्ट्रघाती सम्झौताको खारेजी गर्नु र नेपाललाई वैज्ञानिक समाजवादी वाटोमा पुर्याउनु वाहेक आफ्नो अरु कुनै उद्देश्य नभएको पनि जिकिर गर्नु भयो ।

महासचिव विप्लवले त्यसका लागि सवै क्रान्तिकारीहरु एकठाउँमा आउनै पर्छ यदि क्रान्तिको नाममा प्रतिक्रान्ति गरिरहेकाछौ भने फरक विषय हो भन्नु भयो ।
नेकपाको जेठ १२ गते देखि १८ गते सम्म उदयपुरमा १३ औं केन्द्रीय समितिको वैठक वसेको थियो । वैठकले आगामी असोज १ गते उद्घाटन हुने गरी नवौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड)ले केन्द्रीय समितिले गरेका निर्णयहरु पढेर सुनाउनु भएको थियो । प्रवक्ता प्रकाण्डले नेकपाको केन्द्रीय समितिले २ महिने चुनावी समिक्षा गर्दै आगामी कार्ययोजना तय गरेको वताउनु भयो ।
नेकपाले अव एमसीसी विरुद्ध आन्दोलन गर्ने, तीन वुदे सहमति कार्यन्वयका लागि पहल गर्दै वन्दी रिहाको दवाव दिने र पार्टीले उठाउदै आएको जनमतसंग्रहको कार्यनीतिलाइृ आगाडि वढाउने निर्णय गरेको जनाएको छ ।

मुख्यगरी नेकपाले संगठन सुदृढ र विस्तार गर्दै आगामी महाधिवेशन भव्य रुपमा सफल पार्ने गरी तयारीमा लाग्ने जनाएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय समितिका नेता देखि सयौ पार्टी कार्यकता तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस