हस्ताक्षर फिर्ता नलिने एमाले होइनन् ः केपी ओली

१९ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमालेका निवर्तमान सांसदहरु पार्टीमा नरहने बताउनु भएको छ ।

बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहनु भएका ओलीले यस्तो वताउनु भएको हो ।

उहाँले भन्नु भयो ‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर जजसको कायम रहन्छ,, ती पार्टी कार्यकर्ता होइनन् ।’ फैसला आउँदा कित्ता छुट्टिसक्ने छ ।

प्रतिनिधिसभा विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ निवर्तमान सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए, जसमा माधव नेपाल समूहका २३ जना पनि छन् ।

शुक्रबार मात्र अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता लिन सोमबार साँझ ५ बजेसम्मको अल्टिमेटम दिनु भएको थियो । तर नेपाल पक्षले हस्ताक्षर फिर्ता लिन मानेको छैन ।

शनिबार अध्यक्ष ओलीसँग भएको टेलिफोन सम्वादका क्रममा नेता नेपालले फैसला स्वीकार्न सकिने, तर हस्ताक्षर फिर्ता लिन नसकिने बताउनु भएको छ ।

उहाँले एकतर्फी रुपमा बोलाएको बैठक रोक्न र पार्टी एकताका लागि २ जेठ २०७८ मा गठित कार्यदललाई सक्रिय बनाउने प्रस्ताव राख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस